काभ्रे
राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आउन अझै एक साता लाग्ने जनाएको छ । बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि बोर्डले काम गरिरहेको भए पनि अन्तिम नतिजा सार्वजनिकमा थप एक साता समय लाग्ने भएको हो । असार मसान्तसम्म नतिजा सार्वजनिक गर्ने भनिए पनि सम्पूर्ण तयारी पूरा नभएका कारण नतिजा सार्वजनिकमा ढिलाई भएको बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले सीआईएनसँग बताउनुभयो ।
नतिजामा हुने त्रुटिलाई कम गर्ने उद्देश्यका साथ काम भइरहेकाले असारको १२ गते भित्र नतिजा प्रकाशन गर्ने तयारी भइरहेको प्रवक्ता अर्यालको भनाइ छ । कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यसवर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सञ्चालन गरेको थियो । परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका थिए ।