पनौती
आर्थिक रूपमा विपन्न पदमबहादुर कार्कीको परिवारका लागि धर्मगुरु मुकुन्द शर्मा हुमागाईँले दुई कोठे घर निर्माण गरिदिने भएका छन्। जीर्ण घरमा बस्दै आएको कार्की परिवारको आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि शर्माले आफ्नै पहलमा नयाँ घर निर्माण गरिदिने प्रतिबद्धता जनाएका हुन्।
कार्कीका छोरा ज्ञानबहादुर कार्की लामो समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित छन्। स्थानीयका अनुसार करिब दुई महिनासम्म उपचार गरेपछि उनको स्वास्थ्यमा सुधार आएको छ। उनकी आमासमेत थाइराइडसम्बन्धी समस्याका कारण बिरामी रहेकी छन्।
परिवारको कमजोर आर्थिक अवस्थाका कारण ज्ञानबहादुरको उपचारमा समस्या भएपछि स्थानीयवासीहरुले सहयोगबाट रकम संकलन गरेका थिए। उपचारका लागि करिब १ लाख ७० हजार रुपैयाँ संकलन भएको र सो रकममध्ये पुरानो घर भत्काउन ४० हजार तथा ज्ञानबहादुरको उपचारमा करिब १ लाख ३० हजार रुपैयाँ खर्च भएको बताइएको छ।
अब परिवारका लागि सुरक्षित आवास निर्माण गर्न स्थानीयवासी, व्यवसायी तथा सहयोगी दाताहरूको साथ आवश्यक रहेको छ। घर निर्माणका लागि स्थानीय फर्निचर व्यवसायी तथा समाजसेवी महेश पहरीले झ्याल–ढोकाको जिम्मेवारी लिएका छन् भने पनौती नगरपालिका–१० का वडा अध्यक्ष मोहनबहादुर भण्डारीले घरको छानो निर्माणको जिम्मेवारी लिएका छन्।
घर निर्माणको औपचारिक सुरुवातका लागि धर्मगुरु मुकुन्द शर्मा हुमागाईँ स्वयं खोपासी पुगेर मंगलाचरण गरेका छन्। घर निर्माण गर्न भक्तराज भारतीको अध्यक्षतामा ९ सदस्यीय निर्माण समिति समेत गठन गरिएको छ।
मंगलाचरण कार्यक्रममा पनौती नगरपालिका–१० का वडा अध्यक्ष मोहनबहादुर भण्डारी, काठमाडौं महानगरपालिका–३२ की वडा सदस्य हिरादेवी पोखरेल, कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापा, समाजसेवी विवेक भट्टराई, सहयोगी दाता तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
धर्मगुरु शर्माले घर निर्माणको काम छिटोभन्दा छिटो सम्पन्न गरी कार्की परिवारलाई हस्तान्तरण गर्ने बताए। उनले विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गर्नु मानवीय दायित्व भएको भन्दै घर निर्माणमा सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन् । स्थानीय तथा समाजसेवी मनोज कुँवरले पदमबहादुर कार्कीको परिवारको घर निर्माण तथा उपचारमा सहयोग गर्ने सबैलाई समेटेर अघि बढ्ने बताए। उनले घर निर्माण कार्य सफल बनाउन स्थानीयवासी, व्यवसायी तथा सहयोगी दाताहरूलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गरेका छन् ।




