काभ्रे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीयवासीले गाउँपालिकाको समग्र विकास, सडक पूर्वाधारको दीर्घकालीन सुधार, गुणस्तरीय स्वास्थ्य तथा शिक्षा सेवा र किसानका समस्यालाई प्रमुखताका साथ उठाएका छन् ।
स्थानीयले विकासका योजना कागजमा सीमित नराखी जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयन गर्नुपर्ने मागसमेत गरेका छन् ।कार्यक्रममा सहभागी स्थानीयवासीले रोशी गाउँपालिकाका १२ वटै वडामा सडक, स्वास्थ्य र शिक्षाको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
उनीहरूले विशेषगरी सडकको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने, वर्षायाममा आवागमनमा हुने कठिनाइ न्यूनीकरण गर्नुपर्ने र सडक निर्माण गर्दा गुणस्तर तथा दिगोपनामा ध्यान दिनुपर्ने माग राखेका छन् । त्यस्तै, गाउँमै सहज स्वास्थ्य सेवा, पर्याप्त स्वास्थ्यकर्मी तथा आवश्यक औषधिको व्यवस्था र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने विषयसमेत उठाइएको थियो ।
कृषि क्षेत्रमा देखिएका समस्याप्रति पनि स्थानीयले सरकारको ध्यानाकर्षण गराएका छन् । किसानलाई खेतीपातीको समयमा नै रासायनिक मल तथा बीउ उपलब्ध गराउनुपर्ने, कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्नुपर्ने र प्राकृतिक विपद् वा अन्य समस्याबाट प्रभावित किसानलाई समयमै राहत तथा सहयोग उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।
स्थानीयले खानेपानी, सिँचाइ, रोजगारीका अवसर, कृषि सडकको स्तरोन्नति तथा युवालाई स्थानीय स्तरमै आयआर्जनसँग जोड्ने कार्यक्रम आवश्यक रहेको विषयसमेत उठाएका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा रास्वपाका केन्द्रीय प्रतिनिधि जगदीश खरेलले स्थानीयका गुनासा, समस्या र अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए ।
उनले जनताका वास्तविक आवश्यकता बुझेर नीति, योजना र कार्यक्रमलाई जनजीवनसँग जोड्नुपर्नेमा जोड दिँदै स्थानीयले उठाएका सवाललाई सम्बन्धित तहमा पु¥याउने प्रतिवद्धता गरेका थिए ।त्यसैगरी, रास्वपा काभ्रेका जिल्ला सभापति प्रविनकुमार ढकालले अभियान जनतासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूका समस्या तथा सुझाव सुन्ने माध्यम भएको बताए । उनले स्थानीयका आवश्यकता र गुनासालाई प्राथमिकताका साथ संकलन गरी जनताको आवाजलाई राजनीतिक बहस तथा नीति निर्माणसँग जोड्नुपर्ने धारणा व्यक्त समेत राखेका थिए ।
अभियानकै क्रममा रोशी गाउँपालिका वडा नं. ७ का सिंशबहादुर गौतम र देवकुमार श्रेष्ठ नेकपा माओवादी परित्याग गरी रास्वपामा प्रवेश गरेका छन् । उनीहरूलाई माननीय जगदीश खरेल र जिल्ला पार्टी सभापति ढकालले खादा लगायर पार्टीमा स्वागत गरेका थिए ।
स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा गाउँपालिकाको विकास, सार्वजनिक सेवा प्रवाह र जनताका दैनिक समस्याबारे छलफल भएको थियो । ‘हामी आउँदैछौँ’ अभियानले स्थानीय तहमा जनताका अपेक्षा र गुनासा संकलन गर्ने क्रमलाई निरन्तरता दिएको रास्वपा काभ्रेले जनाएको छ ।




