बेथानचोक/ काभ्रे
पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा चर्चामा रहेको बेथानचोक गाउँपालिका वडा नं. ३ स्थित बनेको कल्भर्ट (पुल) निर्माणसम्बन्धी विषयलाई लिएर बेथानचोक गाउँपालिकाले वास्तविक तथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ। निर्माण कार्यको अवस्था, बाँकी काम र जिम्मेवारीबारे आधिकारिक विवरण नबुझी विभिन्न सामग्री सार्वजनिक हुँदा नागरिकमा भ्रम सिर्जना हुन सक्ने भन्दै गाउँपालिकाले तथ्यमा आधारितरहेर सामाग्री सम्प्रेषण गर्न आम नागरिकलाई आग्रह समेत गरेको छ ।
कल्भर्ट निर्माणसम्बन्धी विषयमा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी तथा आलोचना भइरहेका बेला शहरी विकास तथा भवन कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकले बेथानचोक गाउँपालिकालाई पठाएको लिखित पत्रले निर्माण कार्यको सम्झौता, आर्थिक प्रगति, सम्पन्न भएका काम र बाँकी कामबारे विवरण सार्वजनिक गरेको छ।
शहरी विकास तथा भवन कार्यालय धुलिखेलले मिति २०८३/०८/०९ मा बेथानचोक गाउँपालिकालाई पठाएको पत्रमा बेथानचोक गाउँपालिका वडा नं. ३ मा निर्माणाधीन कल्भर्ट महाकाल स्थान–गोल्माकोट सडक स्तरोन्नति कार्यअन्तर्गत रहेको उल्लेख छ। उक्त निर्माण कार्यका लागि कार्यालय र निर्माण व्यवसायी श्री निधि कन्स्ट्रक्सन, पनौती–१०, खोपासी, काभ्रेपलाञ्चोकबीच २४ लाख ४५ हजार ६ सय ७९ रुपैयाँ २६ पैसा (भ्याट तथा पीएससहित) मा मिति २०८३/०२/०२ गते सम्झौता भएको कार्यालयले पत्रमा जनाएको छ।
पत्रअनुसार निर्माण व्यवसायीलाई आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म ८ लाख ४४ हजार १४९ रुपैयाँ ४५ पैसा (भ्याट सहित) भुक्तानी भएको उल्लेख छ। त्यसपछि चालु आर्थिक वर्षमा ठेकेदार कम्पनी मार्फत स्ल्याब ढलान, जीआई रेलिङलगायतका काम सम्पन्न भइसकेको तर त्यसको भुक्तानी हुन बाँकी रहेको पत्रमा जनाइएको छ। साथै, कल्भर्टको विङ्स वाल निर्माण तथा फिलिङको कामसमेत बाँकी रहेको र उक्त काम बेथानचोक गाउँपालिका वडा नं. ३ मार्फत सम्पन्न गर्ने सहमति भएको सहरी बिकास तथा भवन कार्यालयले जनाएको छ ।
शहरी विकास तथा भवन कार्यालयले पत्रमार्फत निर्माण कार्यको भौतिक प्रगति पूर्ण नभएको, विङ्स वाल तथा फिलिङको काम बाँकी रहेको र चालु आर्थिक वर्ष २०८३/०८४ मा उक्त बाँकी कामका लागि कार्यालयबाट बजेट विनियोजन हुन नसकेको जानकारी समेत गराएको छ। त्यसैले बाँकी काम गाउँपालिकाबाट सम्पन्न गराई कल्भर्टबाट यातायात सञ्चालनमा ल्याउन पालिकालाई अनुरोध समेत गरिएको छ।
यस विषयमा बेथानचोक गाउँपालिका अध्यक्ष भवन अधिकारीले गाउँपालिकाले पुलको बाँकी काम सम्पन्न गर्ने विषयलाई गम्भीरतापूर्वक लिएको बताएका छन् । अधिकारीले गाउँपालिकाको कार्यपालिका बैठक २०८३ साल असोज २७ गतेको निर्णयअनुसार उक्त कल्भर्टको विङ्स वाल निर्माण तथा आवश्यक बाँकी कामका लागि १५ लाख रुपैयाँ बराबरको काम गर्ने निर्णय गरिएको बताएका छन् ।
अध्यक्ष अधिकारीका अनुसार विङ्स वाल निर्माणका लागि आवश्यक तयारी अघि बढाइने, माटो फिलिङलगायतका काम सम्पन्न गरी कल्भर्टलाई छिट्टै सवारी सञ्चालनयोग्य बनाउने गाउँपालिकाको योजना रहेको छ। बाँकी निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गरी स्थानीयवासी तथा सडक प्रयोगकर्तालाई आवागमनमा सहजता प्रदान गर्ने गाउँपालिकाको तयारी रहेको उनले बताएका छन् ।
यता , स्थानीय बासिन्दाहरूले महाकाल स्थान–गुल्माकोट सडक स्तरोन्नतिका कार्यलाई लिएर वडा कार्यालयप्रति गुनासो गरेका छन्। सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भए पनि महाकाल खोलामा पुल निर्माण नगरी अन्य खोलामा पुल निर्माण गरिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका हुन्।
स्थानीयका अनुसार महाकाल थानस्थित खोलामा पुल निर्माण गर्दा विङ्सवालसहितको संरचना निर्माणका लागि पर्याप्त बजेट उपलब्ध हुने अवस्था थियो। तर, अर्को खोलामा पुल निर्माणका क्रममा विङ्सवाल निर्माणका लागि बजेट अपुग हुने भएपछि वडा नम्बर ३ का जनप्रतिनिधिले यही ठाउँमा पुल निर्माण हुनुपर्ने र बरु विङ्सवाल माटो फिलिङ्को लागी आवश्यक पर्ने बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएपछि निर्माण कम्पनी निधि कन्स्ट्रक्सनले उक्त स्थानमा पुल निर्माणको काम अघि बढाएको बताइएको छ।
तर, पुल निर्माणको क्रममा गाउँपालिका र वडा कार्यालयबीच आवश्यक समन्वय तथा बजेट व्यवस्थापन प्रक्रिया समयमै हुन नसकेको देखिएको छ। विङ्सवाल निर्माणका लागि आवश्यक बजेट पहिले नै सुनिश्चित गर्नुपर्नेमा पुल निर्माण कार्य अघि बढेपछि मात्र बजेट विनियोजन तथा समन्वय भएको विषयले पनि प्रश्न उठाएको छ।
स्थानीयको भनाइअनुसार विङ्सवाल निर्माणको जिम्मेवारी वडा नम्बर ३ ले बजेट व्यवस्थापन गर्ने सहमतिमा लिएको भए पनि त्यसको व्यवस्थापन प्रक्रिया निर्माण कार्यसँगै अघि बढ्न नसक्दा र निरन्तर काम हुन नसक्दा समस्या देखिएको हो ।