बेथानचाेक
काभ्रेको बेथानचोक गाउँपालिकाले पाटनेखोला–गुवाभञ्ज्याङ सडकखण्डमा सडक ढलानको काम सुरु गरेसँगै उक्त सडक खण्ड अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द रहने जनाएको छ।
गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार बेथानचोक गाउँपालिका–२ स्थित पाटनखोला–गुवाभञ्ज्याङ सडकको डाँडाघरदेखि गुवाभञ्ज्याङसम्मको सडक खण्डमा मिति २०८३ मंसिर १४ गते सोमबारदेखि सडक ढलानको काम सुरु गर्न लागिएकाे जनाइएकाे छ।
निर्माण कार्यलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गर्न ढलान कार्य अवधिभर उक्त सडक खण्डमा यातायात सञ्चालन पूर्ण रूपमा बन्द गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ। अर्को सूचना जारी नभएसम्म सडक बन्द रहने भएकाले यस मार्ग प्रयोग गरी आवतजावत गर्ने सर्वसाधारण, यात्रु तथा सवारी चालकलाई पूर्वजानकारी राख्न गाउँपालिकाले आग्रह गरेको छ।
गाउँपालिकाले सडक बन्द हुँदा यात्रु तथा स्थानीयवासीमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै निर्माण कार्यलाई सफल बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा गरेको छ। साथै, सडक बन्द रहने अवधिमा आवश्यक समन्वय र सहजीकरणका लागि खानिखोला गाउँपालिका, ललितपुरको महाङ्काल गाउँपालिका तथा बेथानचोक गाउँपालिका वडा नं. १ र २ का कार्यालयलाई अनुरोध गरिएको छ।
त्यसैगरी, यात्रु तथा सर्वसाधारणको सुरक्षाका लागि प्रहरी चौकी च्याम्राङबेँसीलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन र पुण्यवती यातायात सेवा प्रा.लि., पनौतीलाई वैकल्पिक यातायात व्यवस्था मिलाउन सहयोग गर्न आग्रह गरिएको छ।
बेथानचोक गाउँपालिकाकाद्वरा सडक निर्माण कार्य सम्पन्न नभएसम्म सम्बन्धित सडक खण्ड प्रयोग नगर्न र सम्भावित असुविधाबाट बच्न यात्रु तथा सवारी चालकलाई समयमै आफ्नो यात्रा व्यवस्थापन गर्न अनुरोध गरिएको छ।




