पनौती / काभ्रेपलाञ्चोक
हालैको प्राकृतिक विपद् तथा राजमार्ग अवरोधका कारण अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भइरहेका बेला पनौती क्षेत्रमा अस्वाभाविक मूल्यवृद्धि, कृत्रिम अभाव र कालोबजारी बढेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनौती नगर समितिले ध्यानाकर्षण भएको जनाएको छ। आज बजार अनुगमनको लागि माग गर्दै पनौती नगरपालिकाकी उपप्रमुख गीता बन्जारालाइ समितिले ध्यानाकर्षण पत्र बुझाएको छ ।
एक विज्ञप्ति जारी गर्दै रास्वपा पनौती नगर समितिले विपद्को समयमा नागरिकको बाध्यतालाई अवसरका रूपमा लिएर अनुचित नाफा कमाउने र कृत्रिम अभाव सिर्जना गर्ने आफुहरुलाई स्वीकार्य नहुने स्पष्ट पारेको छ। विपद् शोषणको अवसर नभई मानवीय जिम्मेवारी निर्वाह गर्ने समय भएको उल्लेख गर्दै समितिले अत्यावश्यक वस्तुको मूल्य, मौज्दात, आपूर्ति र बिल-बिजकको तत्काल प्रभावकारी अनुगमन गर्न माग गरेको छ।
विज्ञप्तिमा अनुगमनका क्रममा कालोबजारी, कृत्रिम अभाव वा अस्वाभाविक मूल्यवृद्धिमा संलग्न भएको प्रमाणित भएमा प्रचलित कानुन बमोजिम तत्काल कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ। यसका लागि स्थानीय सरकार, जिल्ला प्रशासन, प्रहरी र उपभोक्ता हित संरक्षणसम्बन्धी निकायहरूबीच समन्वय गरी संयुक्त अनुगमन गर्न र त्यसको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न समेत आग्रह गरिएको छ।
रास्वपा पनौतीले सम्पूर्ण व्यवसायीहरूलाई इमानदार व्यावसायिक आचरण देखाउन अपिल गर्दै अस्वाभाविक मूल्यवृद्धि वा कालोबजारी भएको प्रमाण सुरक्षित राखी सम्बन्धित निकायमा उजुरी गर्न आम नागरिकलाई अनुरोध समेत गरेको छ।
यस्तो छ विज्ञप्ति




