बनेपा
वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, ( साविक खानटोक ७ ) का २९ वर्षीय लक्ष्य घिमिरे विगत २५ दिनदेखि परिवार तथा आफन्तको सम्पर्कबाहिर रहेका छन् । लामो समयदेखि विदेशमा कार्यरत घिमिरे एक्कासि सम्पर्कविहीन भएपछि उनको परिवार चिन्तित बनेको छ । परिवारले उनको अवस्था पत्ता लगाई सकुशल घर फर्काउन सम्बन्धित निकायसँग खोजी तथा उद्धारका लागि अपिल गरेको छ । वैदेशिक रोजगार बोर्डमा उपलब्ध विवरणअनुसार घिमिरे रोजगारीका लागि यूएईस्थित ईएमपीवल्र्ड इम्प्लोयमेन्ट सर्भिसेज एलएलसी नामक कम्पनीमा काम गर्न गएको उल्लेख छ । उनी करिब एक वर्षअघि वैदेशिक रोजगारीका लागि यूएई पुगेका थिए । तर, पछिल्लो समयदेखि परिवारसँग कुनै सम्पर्क हुन नसकेपछि उनको अवस्थाबारे परिवार थप चिन्तित बनेको हो । घिमिरेका सालो नवराज सेन्चिउरीका अनुसार विगत करिब २५ दिनदेखि उनी परिवार र आफन्तको सम्पर्कमा आएका छैनन् । परिवारका अनुसार घिमिरेको मानसिक अवस्था पनि सामान्य नरहेको बताइएको छ । यस्तो अवस्थामा उनी कहाँ छन्, कस्तो अवस्थामा छन् र उनको सुरक्षा अवस्था के छ भन्नेबारे परिवारले कुनै जानकारी पाउन सकेको छैन ।
घटनाबारे जानकारी पाएपछि परिवारले वैदेशिक रोजगार बोर्डलगायत सम्बन्धित निकायमा खोजीका लागि पहल गरिरहेको जनाएको छ । वैदेशिक रोजगार बोर्डले समेत उपलब्ध विवरणका आधारमा उनको खोजी कार्यका लागि सम्बन्धित निकायमा पत्राचार तथा आवश्यक समन्वयको प्रक्रिया अघि बढाएको जानकारी प्राप्त भएको छ । बोर्डको पत्रअनुसार घिमिरेका भिनाजु नवराज विकले उनको खोजी तथा उद्धारका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा बोर्डले उनको अवस्थाबारे आवश्यक खोजबिन गरी सकुशल उद्धार गरेर नेपाल फर्काउन सहजीकरण गरिदिन दूतावासलाई अनुरोध गरेको छ । पत्रमा घिमिरेको उद्धारका लागि आवश्यक सहयोग र समन्वय गरिदिन विशेष आग्रह गरिएको छ । वैदेशिक रोजगार बोर्डमा उपलब्ध विवरणअनुसार घिमिरे यूएईस्थित ईएमपीवल्र्ड इम्प्लोयमेन्ट सर्भिसेज एलएलसी नामक कम्पनीमा काम गर्न करिब एक वर्षअघि विदेश गएका थिए । उनको राहदानी नम्बर ११–२९–३६–३३ रहेको पत्रमा उल्लेख छ । पछिल्लो समय परिवारसँग सम्पर्क हुन नसकेपछि आफन्तले उनको खोजीका लागि सरकारी निकाय गुहारेका हुन् । बोर्डले उक्त पत्रको बोधार्थ श्रम तथा रोजगार मन्त्रालय, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, वैदेशिक रोजगार विभाग र काठमाडौंस्थित सम्बन्धित निकायलाई समेत दिएको छ । परिवारले यूएईमा रहेका नेपाली दूतावास, सम्बन्धित रोजगारदाता कम्पनी, वैदेशिक रोजगार बोर्ड तथा नेपाल सरकारका सम्बन्धित निकायलाई लक्ष्य घिमिरेको अवस्थाबारे तत्काल खोजबिन गरी सकुशल उद्धारका लागि पहल गरिदिन आग्रह गरेको छ ।उनलाई यूएईमा देख्नुहुने, उनको अवस्थाबारे जानकारी राख्नुहुने वा सम्बन्धित कुनै सूचना पाउनुहुने व्यक्तिले परिवार तथा सम्बन्धित निकायलाई जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ ।