काभ्रेपलाञ्चोक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनौती नगर समितिले सामाजिक सञ्जालमा स्थानीय निर्वाचनका उम्मेदवारसम्बन्धी भ्रामक सूचना तथा अफवाह फैलिन थालेको भन्दै त्यस्ता हल्लाको पछि नलाग्न मतदातासमक्ष आग्रह गरेको छ ।
समितिले २०८३ कात्तिक १२ गते सार्वजनिक अपिल मार्फत पनौती नगरपालिकाका सम्पूर्ण मतदातालाई सामाजिक सञ्जालमा आउने अपुष्ट सूचना र अड्कलबाजीका आधारमा धारणा नबनाउन आग्रह गरेको हो।
विगत केही दिनदेखि सामाजिक सञ्जालका विभिन्न फेसबुक पेजहरूमार्फत स्थानीय निर्वाचनका उम्मेदवारसम्बन्धी अपुष्ट सूचना तथा अड्कलबाजी फैलिँदा आम नागरिकमा अन्योल सिर्जना हुन सक्ने अवस्था देखिएको समितिले जनाएको छ। त्यसैले अफवाहको पछि नलागी आधिकारिक सूचनालाई मात्र विश्वास गर्न समितिले अनुरोध गरेको छ।
ऐतिहासिक तथा पवित्र भूमि पनौतीको विकास, सुशासन र समृद्धिका लागि योग्य, इमानदार तथा प्रतिबद्ध जनप्रतिनिधि छनोट गर्नुपर्ने आवश्यकता औँल्याउँदै समितिले नागरिकलाई सचेत र जिम्मेवार भएर निर्णय लिन आग्रह गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र परिणाममुखी कामको भावना जनताको घरआँगनसम्म पुर्याउने, चौबिसै घण्टा जनताको सेवामा समर्पित रहने तथा पनौतीको वास्तविकता बुझेका योग्य नेतृत्व उम्मेदवार छनोट प्रक्रियामार्फत अघि सार्ने लक्ष्य राखेको अपिलमा उल्लेख छ।
पनौतीको विकास र समृद्धिका लागि स्पष्ट दृष्टिकोण, इमानदार प्रयास तथा जनताप्रति उत्तरदायी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै समितिले नेतृत्व परिवर्तन मात्र नभई नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने परिवर्तन आफ्नो लक्ष्य रहेको जनाएको छ।
समितिका सभापति दिनेश श्रेष्ठले सम्पूर्ण मतदातालाई धैर्य राख्न, आधिकारिक निर्णयको प्रतीक्षा गर्न र भ्रमपूर्ण प्रचारबाट सचेत रहन आग्रह गरेका छन्।