काठमाडौं
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने र पुराना सम्झौताहरु कार्यान्वयनको माग गर्दै देशभरका शिक्षकहरुले १५ औं दिन पनि राजधानीमा प्रदर्शन जारी राखेका छन् । यसैबीच, शिक्षकहरुको आन्दोलनमा सहभागितालाई लिएर काभ्रेपलाञ्चोक जिल्लाका प्रधानाध्यापकहरुले बुधबार काठमाडौंमा छलफल कार्यक्रम सम्पन्न गरेका छन् ।
बानेश्वरस्थित श्री रत्नराज्य माध्यमिक विद्यालयमा भएको छलफलमा आन्दोलनको अहिलेसम्मको उपलब्धि, आन्दोलनको स्वरूप र आगामी कार्यक्रमबारे गहन छलफल भएको थियो । कार्यक्रमको सभापती आन्दोलन परिचालन समितिको संयोजक
शम्भु प्रसाद घिमिरे ले गर्नु भएको थियो ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीको आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष सुवेदीले सरकारले ऐन जारी गर्ने विषयमा आशंका उत्पन्न गराएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए । माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनको अडान थियो । उनले आन्दोलनलाई थप सशक्त बनाउन प्रधानाध्यापकहरुको महत्वपूर्ण भूमिका रहने भन्दै सक्रियता बढाउन आग्रह गरे ।
अध्यक्ष सुवेदीले विद्यार्थीको पढाइलाई लिएर अनावश्यक चिन्ता व्यक्त गरिएको भन्दै शैक्षिक सत्रको अन्त्य र नयाँ सत्रको सुरुवातको समय भएकाले खासै शैक्षिक क्षति नभएको दाबी गरे । यो सबै नयाँ शिक्षा ऐन र आन्दोलनको विपक्षमा रहेकाहरुले फैलाएको अफवाह भएको उनको भनाई थियो । उनले भने, ‘कोरोना महामारी र भूकम्प जस्तो विपत्तिको समयमा पनि यति धेरै शैक्षिक चिन्ता व्यक्त भएको थिएन, जति अहिले सुनिएको छ। महासंघ विद्यार्थीको पढाइप्रति गम्भीर छ र पठनपाठनमा असर नपरोस् भन्नेमा सचेत छ । शिक्षा ऐन जारी गराउन सबै सचेत नागरिकको सहयोग आवश्यक छ ।’
महासंघ वार्ताको पक्षमा रहेको तर विगतका धोकाका कारण अर्थहीन वार्तामा नबस्ने सुवेदीले स्पष्ट पारे । प्रमुख तीन दलसहितको वार्तामा महासंघ सहभागी हुन तयार रहेको उनले बताए । माग पूरा नभएसम्म आन्दोलन जारी रहने र देशभरका शिक्षकहरुको संख्या सडकमा अझै बढ्ने उनको दाबी थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका उपमहासचिव राम प्रसाद ढकाल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरी लगायत विभिन्न शिक्षक संगठनका नेताहरुको उपस्थिति थियो । सहभागीहरुले आन्दोलनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।
नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समितिका संयोजक शम्भु प्रसाद घिमिरेको संयोजनमा भएको कार्यक्रममा काभ्रे जिल्लाका सबै पालिकाका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।