पनौती
संघीयता कार्यान्वयन सँगै निर्मित ३ तहका सरकार मध्ये स्थानीय सरकारका रुपमा चिनिने पालिका तथा वडाका भवन निर्माणको क्रम तिब्र बनेको छ । यसै क्रममा पनौती नगरपालिका वडा नं ९ को कार्यालय भवनको बुधबार एक कार्यक्रम बिच शिलान्यास सम्पन्न भयो ।
भवन शिलान्यास कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले गरेका थिए । भवन शिलान्यास गर्दै भण्डारीले यस वर्ष नगरपालिकाका ३ वटा वडा कार्यालयहरु निर्माण गरिने बताए । यस अघि पनौती नगरपालिका वडा नं ५ को वडा कार्यालय भवनको शिलान्यास सम्पन्न भएको छ । बुधबार शिलान्यास भएको वडा नं ९ को भवन दोस्रो हो भने वडा नं ८ को कार्यालय भवन छिट्टै शिलान्यास गरिने नगरप्रमुख रामशरण भण्डारीले बताए ।
पनौती नगरपालिकाको आन्तरिक स्रोत अन्तर्गत बहुवर्षिय योजना अनुसार कुल ३ करोड ५० लाख ३६ हजार ९ सय ७४ मा निर्माण हुने गरी सम्झौता भएको छ । भवन निर्माणको जिम्मेवारी भावना ÷हेमगंगा जेवी निर्माण कम्पनीले पाएको छ । भवन निर्माणको कार्य २०८० फागुन ९ गते शुरु भइ २०८२ भदौ ९ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने समय सिमा रहेको वडा नं ९ को कार्यालयले जनाएको छ ।
पनौती नगरपालिका वडा नं ९ का अध्यक्ष सहकुल कुमार हुमागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरका १२ ओटै वडाका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, प्राविधिक कर्मचारीहरु बुद्धिजिवी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।