काठमाडौं
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेमाल–काठमाडौं सम्पर्क विभाग गठन गरिएको छ। रास्वपा काभ्रे जिल्ला समितिको समन्वय तथा तेमाल गाउँपालिका कार्यसमितिको आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा सम्पर्क विभाग गठन गरिएको हो। नवगठित विभागको प्रमुखमा ज्ञानबहादुर राय चयन भएका छन्।
विभागको उपप्रमुखमा कुमारी घले मुक्तान तथा सचिवमा दिलीमान तामाङ चयन भएका छन्। सदस्यहरूमा सुमन लामा, धर्मराज तामाङ, सन्देश तामाङ, रवि लामा, मिलन कुमार राना तथा ङेमा दोर्जे तामाङ रहेका छन्। नवगठित सम्पर्क विभागका पदाधिकारीहरूलाई रास्वपा काभ्रे जिल्ला सभापति प्रवीणकुमार ढकालले जिम्मेवारी ग्रहण गराएका थिए।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश सभापति उत्सव अर्यालले निर्वाचनमा प्राप्त नतिजा मात्रै पर्याप्त नभई त्यसलाई तेमालको दीर्घकालीन विकास र भावी पुस्ताको भविष्य निर्माणसँग जोड्नुपर्ने बताएका छन्। तेमालमा रोजगारी सिर्जना, आर्थिक विकास र स्थानीय स्तरमै भविष्य खोज्न सक्ने वातावरण निर्माण नभएसम्म नागरिक आर्थिक व्यवस्थापन तथा उज्ज्वल भविष्यको खोजीमा बाहिर जानुपर्ने बाध्यता कायम रहने उनको भनाइ थियो। तेमालमै भविष्य छ भन्ने विश्वास नागरिकमा जगाउने गरी व्यापक योजनाहरू अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले सम्बन्धित नेतृत्वबाट अघि सारिएका योजनाले तेमालको भविष्यमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।त्यसका लागि बागमती प्रदेशले पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा काभ्रे क्षेत्र नम्बर १ का सांसद मधु कुमार चौलागाईंले तेमालको खानेपानी समस्या समाधानका लागि आफूले निरन्तर पहल गरिरहेको बताएका छन्। तेमालको माथिल्लो जलाधार क्षेत्रमा पर्याप्त पानीका स्रोत नहुँदा सामान्य मुहानहरू समेत सुक्दै गएको र कतिपय मुहान पूर्ण रूपमा सुकिसकेको अवस्थामा स्थानीय नागरिकले काकाकुल जीवन बिताउनुपर्ने बाध्यता रहेको उनले बताए।
काठमाडौंमा आयोजित तेमाल–काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रममा सम्बोधन गर्दै सांसद चौलागाईंले तेमालमा लिफ्टिङ खानेपानी आयोजना सञ्चालनमा रहे पनि प्राकृतिक प्रकोपका कारण उक्त आयोजना क्षतिग्रस्त भएको उल्लेख गरे। खानेपानी समस्या समाधानका लागि आफू निर्वाचित भएर गएदेखि नै निरन्तर पहल गरिरहेको बताउँदै उनले बृहत् खानेपानी आयोजनाका अध्यक्ष र प्रतिनिधि खानेपानी आयोजनाको फाइल लिएर आफूलाई भेट्न आएपछि उनीहरूलाई आफैँ मन्त्रालयमा लिएर गएको स्मरण गरे।
आफूले बजेट प्रस्ताव गरेपछि नेपाल सरकारबाट बजेट प्राप्त भएको र त्यसपछि सरकारको अवण्डाबाट समेत थप बजेट आएको उल्लेख गर्दै चौलागाईंले तेमालका विभिन्न आठ क्षेत्रमा थप खानेपानी आयोजनाका लागि बजेट विनियोजन भएको जानकारी दिए।
खानेपानी आयोजना सम्पन्न गराउने उद्देश्यले आफू स्थानीयको घरदैलो तथा आयोजना क्षेत्रमा पुगेर कामको अवस्था बुझ्ने र कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने प्रयासमा रहेको उनको भनाइ थियो।
उनले बजेट विनियोजन तथा सिफारिस प्रक्रियामा स्थानीय जनप्रतिनिधिहरूको भूमिका र जिम्मेवारीबारे पनि प्रश्न उठाएका छन् । मन्तव्यको अन्तिमतिर उनले तेमालमा बुद्धचित्तको कारोबारबाट कतिपय व्यक्ति आर्थिक रूपमा सम्पन्न बनेको प्रसंग उठाउँदै स्थानीय आर्थिक अवस्था, विकास र जनताको जीवनस्तर सुधारका विषयमा पनि चर्चा गरेका छन् ।
त्यस्तैगरी राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे जिल्ला अध्यक्ष प्रवीणकुमार ढकालले तेमाल–काठमाडौं सम्पर्क विभाग गठन गर्नु केवल जिम्मेवारी बाँडफाँडमा सीमित नभई पार्टीले अघि सारेको विकास, समृद्धि र सुशासनको अभियानलाई जनस्तरसम्म पुर्याउने उद्देश्य रहेको बताएका छन्।
कार्यक्रममा सम्बोधन गर्दै ढकालले पार्टी सभापति रवि लामिछानेसहित पार्टी नेतृत्वले देश निर्माणको अभियानलाई अघि बढाइरहेको उल्लेख गर्दै त्यस अभियानको मूल मर्मलाई संगठनमार्फत जनतासम्म पुर्याउनुपर्ने बताए। पार्टीका तहगत समितिहरू गठन र परिचालन गर्नुको मुख्य उद्देश्य जनतासँग जोडिएर विकास, समृद्धि र सुशासनको पक्षमा खबरदारी तथा सकारात्मक भूमिका निर्वाह गर्नु रहेको उनको भनाइ थियो।
कार्यक्रममा तेमाल गाउँपालिका वडा नम्बर ५ निवासी बोनम्यारो क्यान्सर पीडित गोर्खा नारायण लामाको उपचार सहयोगार्थ राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुकहरूले संकलन गरेको एक लाख रुपैयाँभन्दा बढी रकम हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बागमती प्रदेश सभापति उत्सव अर्याल, प्रदेश प्रवक्ता बसुनारायण श्रेष्ठ, काभ्रे जिल्ला सभापति प्रवीणकुमार ढकाल, काभ्रे क्षेत्र नम्बर १ का सांसद मदनकुमार चौलागाईं, क्षेत्रीय प्रतिनिधिहरू, काभ्रे जिल्ला संगठन बिभाग उप प्रमुख कुमार अधिकारी, तेमाल गाउँपालिका कार्यसमितिका पदाधिकारी, विभिन्न वडा सभापति तथा पार्टीका शुभेच्छुकहरूको सहभागिता रहेको थियो। काठमाडौंमा बसोबास गर्दै आएका तेमालवासी युवादेखि वृद्धसम्मको बाक्लो उपस्थिति रहेको कार्यक्रममा तेमालको विकास, खानेपानी, सडक, रोजगारी, आर्थिक समृद्धि, सुशासन तथा जनतासँग गरिएका प्रतिबद्धता कार्यान्वयनका विषयमा वक्ताहरूले धारणा राखेका थिए।




