पनौती
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१०, खोपासीस्थित श्री राम माध्यमिक विद्यालयमा अध्ययनरत १४० जना विद्यार्थीले रैथाने भिलेज रिसोर्टको सहयोगमा विद्यालय पोशाक प्राप्त गरेका छन्। विजयादशमीको अवसर पारेर विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो।
रैथाने भिलेज रिसोर्टले यसअघि ३० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिसकेको थियो। त्यसैलाई निरन्तरता दिँदै यसपटक थप ११० जना विद्यार्थीलाई पोशाक वितरण गरिएको बिद्यालयले बताएको छ ।
रिसोर्टको तर्फबाट विद्यार्थीहरूलाई ट्र्याकसुट, टिसर्ट, जुत्ता तथा मोजा वितरण गरिएको विद्यालयले जनाएको छ। विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई एकरूपता कायम गर्न र नियमित रूपमा विद्यालय आउन प्रोत्साहित गर्ने उद्देश्यले सहयोग गरिएको रैथाने भिलेज रिसोर्टए बताएको छ ।
सोही अवसरमा इन्द्रेश्वर बहुमुखी क्याम्पसमा अध्यापनरत शिक्षक अम्बिका पौडेलले विद्यार्थीहरूलाई स्टेसनरी सामग्रीसमेत वितरण गरेकी थिइन् । विद्यालय पोशाकसँगै शैक्षिक सामग्रीको सहयोगले विद्यार्थीलाई अध्ययनका लागि थप उत्साहित बनाएको छ।
आज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरिता अधिकारी नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पनौती नगरपालिका वडा नं. १० का वडाध्यक्ष मोहन भण्डारी प्रमुख अतिथि तथा धुलिखेल नगरपालिका वडा नं. १० का वडाध्यक्ष गोविन्द भण्डारी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा रैथाने भिलेज रिसोर्ट का संचालक जनक हुमागाईले सबै विद्यार्थीहरुलाई पोसाक वितरण गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक अभिभावक सङ्घका अध्यक्ष बालकृष्ण फुँयाल, अक्षयकोषदाताहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा शिक्षकका तर्फबाट ज्योतकुमार सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यार्थीका तर्फबाट बालक्लबकी अध्यक्ष दीपिका हुमागाईले मन्तव्य व्यक्त गर्नुभएको थियो। शिक्षक देवराज घिमिरेले कार्यक्रमको उद्देश्य, महत्त्व तथा विद्यार्थीका लागि यस्ता सहयोगको आवश्यकताबारे प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक गोविन्द न्यौपानेले गरेका थिए ।




