खानीखोला, काभ्रे
“स्वास्थ्यको लागि खेल, राष्ट्रको लागि खेल” भन्ने नाराका साथ काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नं ७ स्थित रक्त आधारभूत विद्यालयमा सम्पन्न खुला पुरुष भलिबल प्रतियोगिताले खेलकुद जगतमा नयाँ तरंग ल्याएको छ। विद्यालयको ३५औं वार्षिकोत्सवको अवसरमा फागुन १४ गतेदेखि १७ गतेसम्म विद्यालयको प्राङ्गणमा आयोजित यो प्रतियोगिताले स्थानीय युवा खेलाडीहरूको प्रतिभालाई उजागर गरेको छ।
प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो, जसमध्ये बागमती ७ गिम्दीले उत्कृष्ट प्रदर्शन गर्दै खानिखोला ५ लाई पराजित गरी ऐतिहासिक जित हासिल गरेको छ। गिम्दीको जितमा अनिश घिमिरेको उत्कृष्ट खेल प्रदर्शनले सबैको ध्यान खिचेको थियो, जसका कारण उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।
प्रतियोगिताको उद्घाटन समारोहमा पूर्व ऊर्जा राज्यमन्त्री तथा काभ्रे क्षेत्र नं १ का सांसद सूर्यमान दोङले खेलको महत्व र युवा खेलाडीहरूको भूमिकाबारे प्रकाश पारेका थिए। समापन समारोहमा बागमती प्रदेशका पूर्व खानेपानी ऊर्जा तथा सिंचाइमन्त्री एवं काभ्रे क्षेत्र नं १ प्रदेश ख का प्रदेश सभा सदस्य तीर्थ लामाले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै खेलकुदको विकासमा जोड दिएका छन् ।
समापन समारोहमा विद्यालयका प्रधानाध्यापक रत्न घिसिङले विद्यालयको भौतिक संरचना र यस क्षेत्रको समग्र विकासमा सहयोग गर्न प्रमुख अतिथि लामालाई आग्रह गरे। उनले विद्यालयको स्तरोन्नति र नयाँ भवन निर्माणको आवश्यकता औंल्याए।
प्रतियोगिताका विजेता बागमती ७ गिम्दीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। द्वितीय स्थान हासिल गर्ने खानिखोला ५ ले २५ हजार रुपैयाँ, तृतीय हुने हुचिटार टिमले १५ हजार रुपैयाँ र सान्त्वना पुरस्कार आयोजक टिमले १० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।
व्यक्तिगत विधातर्फ, गिम्दीका अनिश घिमिरे उत्कृष्ट खेलाडी घोषित भए भने राजकुमार स्याङ्तान उत्कृष्ट सेटर, कुशल भोलन उत्कृष्ट ब्लकर, साजन थिङ उत्कृष्ट लिब्रो र उमेश स्याङ्तान उत्कृष्ट स्पाइकर घोषित भए। उनीहरू सबैले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
रक्त आधारभूत विद्यालयको आयोजना, विद्यालयका पूर्व विद्यार्थीहरूको सहआयोजना र बुद्धशान्ति युवा क्लबको व्यवस्थापनमा सम्पन्न यो प्रतियोगिताले स्थानीय खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ ।