सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संभावित संक्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोनाको संभावित संक्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक बस्ने तय भएको हुनाले शुक्रबार सुनुवाइ स्थगन गरेको हो।
शुक्रबार बिहान ११ बजे बस्ने तय भएको पूर्ण बैठकले अदालत बन्द गर्ने वा अतिआवश्यकबाहेक अरु बन्द गर्ने भन्ने विषयमा निर्णय गर्नेछ।
यहीँ चैत ४ नेपाल बार एशोसिएसनले विश्वभरि नै कोभिड–१९ फैलिरहेका अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न सर्वोच्च अदालत समक्ष अपिल गरेको थियो।