कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबईमा सञ्चालित स्वास्थ्य सहायताकक्ष (हेल्थ डेस्क)मा छिमेकी मुलुक भारतबाट फर्किनेको जाँचमा निगरानी बढाइएको छ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित बिरामी बढ्दो क्रममा रहेपछि कर्णाली सरकारले उच्च सतर्कता अपनाइ जाँच गर्न मातहतका निकायलाई निर्देशन दिएको हो।
भारतसँगको खुला सिमानाका कारण संक्रमितहरु सहज आउन सक्ने भएकाले चौबिसै घण्टा उच्च सर्तकता अपनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको छ। भारतमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि रोजगारीका क्रममा त्यहाँ रहेकाहरु धमाधम घर फर्कन थालेका छन्। यसले गर्दा नेपालगञ्ज–सुर्खेत (रत्न राजमार्ग) मा यात्रुको चाप बढेको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले रत्न राजमार्गको बबईबाट दैनिक १०० बढी यात्रु भारतबाट फर्कने गरेका बताए। बबई हेल्थ डेस्कमा बुधबार थप ३२ स्वास्थ्यकर्मी पठाइएको छ।