काभ्रे
काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६ स्थित बसपार्कमा रहेको एक होटलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । वडा अध्यक्ष प्रेम लामाका अनुसार हिजो राती १२ बजे सो स्थानमा भएको अम्बर बहादुर लामाको होटलमा आगलागी हुँदा ७० लाख बराबरको क्षति भएको अनुभान गरिएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान छ । स्थानी अविशेक लामाले राती १२ बजे विद्युत सर्ट भएको जस्तो लागेर बाहिर निस्किदा होटलमा आगलागी भएको देखेका थिए । अम्बरबहादुरको परिवार सोही होटलमा सुतिरहेका थिए । गाउँलेहरुले होहल्ला गरेपछि मात्र पिडितको परिवार बाहिर निस्केका थिए । स्थानीय जम्मा भएर आगो नियन्त्रणमा लिन खोजे तर सकेनन् । भित्र ३ वटा ग्याँस सिलिन्डर रहेको र २ वटा विस्फोट भएपछि स्थानीय होटल नजिक जान नसकेको वडा अध्यक्ष लामाले जानकारी दिए । ‘सिलिन्डर पड्कीने डरले नजिक जानै सकेन ।’ उनले भने, ‘तर अर्को सिलिन्डर भने खाली रहेछ ।’
होटलमा भएको नगद, गरहाना, खाद्यान्न, लुगाफाटो सबै नष्ट भएको वडा अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार नगद ५ लाख भएकोमा २ लाख जलेको अवस्थामा फेला परेको छ । गरगहाना भने ७ तोला सुन रहेकोमा सबै फेला परेको छ ।
घट्नापछि पचुवारघाट प्रहरी चौकीमा जानकारी दिएको थियो । पचवारघाट प्रहरी चौकीबाट प्रहरी आएर घट्नाकोबारेमा बुझेको थियो ।