ललितपुर
वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना सकिएको छ । ललितपुरका छ स्थानीय तह मध्ये सबैभन्दा ठुलो ललितपुर महानगरपालिकाको मत गणना सकिएको छ । महानगरको प्रमुखमा दोस्रो कार्यकालका लागि भारी मतका साथ चिरिबाबु महर्जन निर्वाचित भएका छन्।
उनीसहित नेपाली कांग्रेसले ललितपुरका चारवटा पालिकाको प्रमुख पदमा विजय हासिल गरेको छ । गोदावरी नगरपालिकामा गजेन्द्र महर्जन, वाग्मती गाउँपालिकामा वीर बहादुर लोप्चन र महाङ्काल गाउँपालिकामा गणेश बहादुर केसी निर्वाचित भएका हुन् ।
त्यस्तै गोदावरी नगरपालिकाको उपप्रमुखमा मुना अधिकारी, महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा लक्ष्मी महर्जन र कोन्ज्योसोम गाउँपालिकाको उपप्रमुखमा राजन प्रसाद घिमिरे निर्वाचित भएका छन् ।
ललितपुर जिल्लाका छवटा पालिका अन्तर्गत ७१ वटा वडा रहेका छन् । जसमध्ये सबैभन्दा बढी ३८ वटा वडामा नेपाली कांग्रेसले जित हासिल गरी पहिलो पार्टी बनेको छ ।
त्यस्तै नेकपा एमालेले २० वडा जितेको छ । माओवादी केन्द्रले ९ वटा वडा जितेको छ भने एकीकृत समाजवादीले दुई वटा वडा जितेको छ । त्यस्तै स्वतन्त्र बाट २ वटा वडामा जित हासिल गरेको छ ।