काठमाडौं
नेपालमा पहिलो पटक शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउने भएको कम्पनीले जनाएको छ । नेपालको प्राकृतिक सम्पदा हिमालयन शिलाजितलाई आधुनिक ऊर्जा पेय ( Energy Drink ) को रूपमा विश्व बजारमा पु¥याउने उद्देश्यसहित ‘भिट सिला’ ( VIT SHILA ) नामक उत्पादन बजारमा ल्याइने भएको छ ।
भिटसिला फुड्स एण्ड वेभरेज प्रा.लि. (Vitsila Foods and Beverages Pvt Ltd ) ले यही साउन १८ गते यसको औपचारिक शुभारम्भ गर्ने घोषणा गरेको छ । नेपालमै पहिलोपटक व्यावसायिकरूपमा उत्पादन हुन लागेको यो ‘सिलाजित इन्फ्युज्ड इनर्जी ड्रिंक’ को वैज्ञानिक फर्मुलेसन संयुक्त अधिराज्य ( UK ) मा विकसित गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, आधुनिक पेय विज्ञान र हिमालयन शिलाजितको पौराणिक एवं प्राकृतिक महत्त्वलाई एउटै उत्पादनमा समेटिएको यो विश्वकै सम्भवतः पहिलो सरकारी स्वीकृति प्राप्त शिलाजित इनर्जी ड्रिंक हो । विभिन्न क्षेत्रमा अनुभव बटुलेका तीनजना नेपाली उद्यमीहरूको संयुक्त लगानी र सोचबाट यो ब्रान्डको विकास भएको हो ।
संस्थापकहरूमा सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा दुई दशकको अनुभव भएका नरेन्द्रबहादुर चन्द, साबुन उद्योगका अनुभवी विवेक सिटौला र पोल्ट्री फिड उद्योगमा आबद्ध अनुभवी उद्यमी कविन्द्र प्रसाईँ रहेको जनाईएको छ । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने साझा लक्ष्यका साथ नवीन प्रयास थालिएको प्रसाईँले बताए ।
कम्पनीमा अन्तर्राष्ट्रिय साझेदारका रूपमा लण्डनकी डा. हाना रहेकी छन् । VITSILA की संस्थापक तथा सह–मालिक हानाले अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धक र VITSILA को निर्देशकका रूपमा, कम्पनीको विश्वव्यापी दृष्टिकोण (भिजन) तय गर्न र अन्तर्राष्ट्रिय बजारमा उपस्थिति विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।
हाल उनी CSR Accreditation का लागि MENA (मध्य पूर्व र उत्तर अफ्रिका) क्षेत्रको कार्यकारी निर्देशक, Northumbria University London मा लेक्चरर तथा मोड्युल लिडर, बोर्ड सदस्य र UNDP द्वारा मान्यता प्राप्त SDG Impact Standards प्रशिक्षकका रूपमा कार्यरत छिन् । दिगोपन नेतृत्व, CSR रणनीति, दिगो वित्त, ESG र जिम्मेवार कर्पोरेट सुशासनजस्ता क्षेत्रमा उनको विज्ञता रहेको कम्पनीले जनाएको छ ।
‘मेड इन नेपाल’ लाई विश्वव्यापी बनाइने
‘भिट सिला’ को मुख्य लक्ष्य नेपाली बजार मात्र नभई अन्तर्राष्ट्रिय बजार रहेको कम्पनीको भनाइ छ । यूके, अमेरिका, युरोपेली देश र मध्यपूर्वलाई आफ्नो प्राथमिक निर्यात बजारको रूपमा तोकेको बताइएको छ ।यसै योजनाअन्तर्गत कम्पनीले बेलायतको लन्डनमा नयाँ कम्पनी दर्ता गरिसकेको साथै आगामी ३ महिनाभित्र बेलायतमै उत्पादन सुरू गर्ने तयारी गरिरहेको छ ।
‘हामी केवल एउटा नयाँ ऊर्जा पेय मात्र ल्याइरहेका छैनौं, हामी नेपालको शिलाजितलाई विश्वव्यापी ब्रान्ड बनाउने राष्ट्रिय अभियानको सुरुवात गर्दैछौं,’ अध्यक्ष विवेक सिटौलाले भने । कम्पनीले भविष्यमा हिमालयन शिलाजितमा आधारित अन्य स्वास्थ्यवद्र्धक र फङ्सनल वेभरेजहरू पनि बजारमा ल्याउने योजना बनाएको छ । नेपालमा रोजगारी सिर्जना गर्ने, निर्यात बढाउने र Made in NepalÚ को पहिचानलाई विश्वभर फैलाउने दीर्घकालीन उद्देश्यका साथ कम्पनी अघि बढेको संस्थापकहरू बताउँछन् ।




