पनौती / काभ्रे
पनौती नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा “श्रमको सम्मान राष्ट्रको अभियान” सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगरका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित भएकाहरुलाई स्वागत गर्दै पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले श्रमिकको श्रमको उच्च सम्मान हुनुपर्नेमा जोड दिए। उनले भने, “जबसम्म हामी हाम्रा श्रमिकहरूको पसिनाको मूल्य बुझ्दैनौं, तबसम्म राष्ट्रिय स्वाधीनता र सुशासनको कल्पना गर्न सकिँदैन।” शर्माले श्रमिकको मर्यादा र अधिकार स्थापित गर्न सबै एकजुट भएर लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
अन्तर्क्रियामा कार्यक्रममा सामाजिक सुरक्षा कोषका निर्देशक दिनेश कुमार कोइरालाको प्रस्तुति थियो। उनले सामाजिक सुरक्षा कोषमा श्रमिकको योगदान, त्यसबाट प्राप्त हुने लाभ, कोषमा सहभागी हुनुपर्ने आवश्यकता, आबद्ध हुने सरल प्रक्रिया र यसका विविध फाइदाहरूबारे विस्तृत जानकारी गराएका थिए । कोइरालाले श्रमिकहरूलाई आफ्नो भविष्य सुरक्षित गर्न सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आग्रह गरे।
त्यसैगरी, वैदेशिक रोजगार बोर्डकी उपनिर्देशक कल्पना रेग्मीले वैदेशिक रोजगार सम्बन्धी विद्यमान कानुनी व्यवस्था, वैदेशिक रोजगारको वर्तमान परिदृश्य र यस क्षेत्रमा रहेका अवसर तथा चुनौतीहरूबारे स्पष्ट पारेकी थिइन्। उनले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि आवश्यक जानकारी र सावधानी अपनाउन सहभागीहरूलाई सुझाव दिइन्। दुवै प्रशिक्षकको प्रस्तुतिपश्चात् सहभागीहरूले जिज्ञासा राख्दै आफ्ना दुविधा निवारण गरेका थिए।
कार्यक्रमकी सभा अध्यक्ष एवं नगर उपप्रमुख गीता बन्जाराले पनौती नगरपालिका नगरभित्र दक्ष कामदार उत्पादनमा निरन्तर लागिरहेको बताइन्। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नगरका युवाहरूलाई विभिन्न सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने प्रयास जारी रहेको उनको भनाइ थियो। उनले श्रमिकहरूको कम ज्यालाको विषयमा चिन्ता व्यक्त गर्दै उनीहरूको श्रमको उचित मूल्यांकन हुने गरी ज्याला निर्धारण गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
उक्त अन्तर्क्रिया कार्यक्रममा पनौती नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सचिवहरू, नगरका विभिन्न शाखाका प्रमुखहरू, बुद्धिजीवी व्यक्तित्वहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत नगरका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले श्रमिकको सम्मान र अधिकारका विषयमा गहन छलफल गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको थियो।