नमोबुद्ध / काभ्रे
काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ९ का वडा सभापति तथा निर्वाचित वडा सदस्य कान्छमान तामाङमाथी कुटपिट भएको घटनालाई लिएर नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलान्चोकले गम्भीर आपत्ति जनाएको छ। पार्टीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग समेत गरेको छ।
पार्टी सभापति तीर्थ लामाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा माओवादी केन्द्र नमोबुद्दका नगर सचीव रहेका एक्सन लामा नामक व्यक्तिले ज्यानै मार्ने नियतकासाथ वडा सभापति तामाङलाई कुटपिट गरेको उल्लेख छ। नेपाली कांग्रेस काभ्रेले यस घटनालाई लोकतान्त्रिक अधिकारको हनन र पार्टीका सदस्यमाथिको कायरतापूर्ण आक्रमणको संज्ञा दिएको छ । ” हाम्रो पार्टीको वडा सभापति कान्छामान तामाङको शान्तपुर्वक बाँच्न पाउने अधिकार हनन हुने गरी भएको भौतिक आक्रमण सामाजिक रुपमा निन्दनीय र कानुनी रुपमा दण्डनीय छ ।” विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ” हामी यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछौं।” साथै कानुनी राज्यमा हरेक समस्याको निरुपण कानुनी बाटोबाट गर्ने विकल्प हुँदाहुँदै सांघातिक हमलाको बाटो लिएकोमा खेद प्रकट गर्दै दोषी उपर हदैसम्मको कार्वाही हुनुपर्ने काभ्रे काङ्ग्रेसले विज्ञप्ति मार्फत माग गरेको छ । विज्ञप्तिमा उपचाररत घाइते कान्छामान तामाङको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
यो हेरौं ।