ढुंखर्क / काभ्रेपलान्चोक
बेथानचोक गाउँपालिका वडा नम्बर ३ ले स्थानीय युवाहरूलाई सूचना प्रविधिमा सक्षम बनाउने उद्देश्यले निःशुल्क आधारभूत कम्प्युटर तालिमको आयोजना गर्ने भएको छ। विशेषगरी यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरू र वडाभित्र स्थायी बसोबास गर्ने इच्छुक व्यक्तिहरूलाई यो तालिममा सहभागी हुन आह्वान गरिएको छ।
वडा कार्यालयले हालै जारी गरेको सूचना अनुसार, यो तालिम वडा नम्बर ३ को कार्यालय, दुधखर्क बोझाघारीमा सञ्चालन हुनेछ। तालिममा सहभागी हुन इच्छुक उम्मेदवारहरूले २०८२ साल वैशाख ०७ गते आइतबार कार्यालय समयभित्र आफ्नो आवेदन दर्ता गराउनुपर्नेछ , जुन आज सम्म मात्र रहेको छ । कक्षा संचालन भने २०८२ साल वैशाख ८ गतेदेखि सुरु हुने वडा अध्यक्ष कुबेर ढकालले जानकारी दिए ।
अध्यक्ष ढकालले युवाहरूलाई समयसापेक्ष सीप प्रदान गरी उनीहरूको भविष्य उज्ज्वल बनाउन यो तालिम महत्वपूर्ण हुने बताए। उनले भने, “आजको युगमा कम्प्युटर ज्ञान आधारभूत आवश्यकता भइसकेको छ। हाम्रो वडाका युवा युवतीहरूले पनि यस अवसरको सदुपयोग गरी आफ्नो क्षमता विकास गर्नेछन् भन्ने विश्वास लिएको छु।”
इच्छुक युवा युवतीहरूलाई तोकिएको समयसीमाभित्र आवेदन दिन वडा कार्यालयले आग्रह गरेको छ।