काभ्रे / पनौती
पनौती नगरपालिकाले नगरका महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै गरिबी निवारण गर्ने उद्देश्यले विभिन्न सीप विकास तालिमहरूलाई प्राथमिकता दिएको छ। नगरपालिकाको महिला तथा बालबालिका शाखाको सक्रियतामा सञ्चालित यी तालिमहरूले स्थानीय महिलाहरूमा आत्मविश्वास जगाएको छ।
२०८१ बैशाख २ गतेदेखि ४ गतेसम्म आयोजित अचार बनाउने तालिममा सहभागी महिलाहरूले घरेलुस्तरमै स्वादिष्ट र गुणस्तरीय अचार बनाउने कला सिकेका थिए। तालिमस्थलमा प्रशिक्षक र सहभागीहरूबीचको अन्तरक्रियाले सिकाइलाई थप प्रभावकारी बनाएको थियो।
२०८२ वैशाख २ गतेदेखि सुरु भएको एक महिने सिलाई कटाई तालिमले महिलाहरूलाई कपडा सिलाउने सीप प्रदान गरिरहेको छ। तालिममा अनुभवी प्रशिक्षक रसिला तामाङले ९ जना महिलालाई सिलाईकलाको प्रशिक्षण दिइरहेकी छिन्। यो तालिमले सहभागी महिलाहरूलाई आफ्नै लुगाफाटो सिलाउनुका साथै भविष्यमा यसैलाई आयस्रोतको माध्यम बनाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अचार बनाउने तालिममा प्रशिक्षक मनिला के.सी.ले ६ जना महिलालाई अचार बनाउने विभिन्न तरिकाहरू सिकाएकी थिइन्। स्थानीय स्तरमा उपलब्ध कृषि उपजलाई प्रयोग गरेर कसरी विभिन्न प्रकारका अचार बनाउन सकिन्छ भन्ने ज्ञान हासिल गरेपछि सहभागी महिलाहरू उत्साहित देखिन्थे ।
महिला तथा बालबालिका शाखाका उध्यम बिकास सहजकर्ता सुदर्शन कार्कीले भने, “हामीले उद्यमशीलता तालिमको अवधिभर बजारको माग र स्थानीय स्रोतसाधनको उपलब्धतालाई ध्यानमा राखेर सम्भावित व्यवसायहरूको पहिचान गरेका छौं। सोही अनुसार महिला दिदीबहिनीहरूको सीप विकासमा लगानी गरिरहेका छौं।” उनले थप जानकारी दिँदै भने आगामी दिनमा मसला बनाउने र बेकरी जस्ता अन्य आयमूलक तालिमहरू पनि सञ्चालन गरिने योजना रहेको छ। यसले महिलाहरूलाई विभिन्न क्षेत्रमा उद्यम गर्ने अवसर मिल्नेछ।