काठमाडौ
नेपाल तामाङ संघ केन्द्रीय कार्यसमितिले अधिवक्ता भगवती पाण्डेले एक टेलिभिजन अन्तरवार्तामा जातीय द्वन्द्व सिर्जना गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले पाण्डेलाई कार्वाही गर्न जोडदार माग गरेको छ ।
तामाङ संघको सभापति रामकृष्ण तामाङद्वारा हस्ताक्षर भएको प्रेस विज्ञप्ति मार्फत नेपालको तामाङ आदिवासी समुदायको पहिचान, संस्कृति र भावना माथि चोट पुग्ने गरि दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको पनि बताएको छ । तामाङ आदिवासी समुदायको इतिहास, सभ्यता, पहिचान, संस्कार, संस्कृति र तथ्यलाई तोडमोड गर्दै गलत तरिकाले व्याख्या गरि समुदायमा भ्रम सिर्जना गरेको भन्दै निज पाण्डेले तामाङ समुदायको भावना माथि खेलबाड गर्दै सामाजिक सद्भाव र जातीय द्वन्द्व फैलाइ नेपाली समाजलाई विखण्डन तिर लैजाने अभिव्यक्ति दिएको निष्कर्ष निकाल्दै त्यस् अभिव्यक्तिप्रति घोर निन्दा सहित तामाङ संघले आपत्ति समेत प्रकट गरेको छ ।
सामाजिक न्याय र समतामूलक समाज निर्माण गरि समृद्ध मुलुक बनाउन अग्रसर तामाङ आदिवासी समुदायप्रती दिइएको भ्रामक अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको हो ।
अधिवक्ता भगवती पाण्डेले केहिदिन अघि एक टेलिभिजन कार्यक्रम मार्फत तामाङ समुदायलाई लक्षित गर्दै विवादित अभिव्यक्त दिएकी थिइन् ।