काभ्रेपलान्चोक / पनौती
पनौती नगरपालिकाले नगरभित्रका कक्षा ११ र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच पुर्याउने उद्देश्यले शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ। यो छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपले कमजोर तर जेहेन्दार विद्यार्थीहरूलाई ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार, कक्षा ११-१२ मा अध्ययनरत विद्यार्थीहरूले एस.ई.ई. वा सो सरहको परीक्षामा कम्तीमा जीपीए २.० प्राप्त गरेको हुनुपर्नेछ भने स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले प्रमाणपत्र तहमा कम्तीमा ५० प्रतिशत अंक ल्याएको हुनुपर्नेछ। यस छात्रवृत्तिको मुख्य प्राथमिकता पनौती नगरपालिकाभित्र स्थायी बसोबास गरी यहीँका शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूलाई दिइनेछ। यद्यपि, अन्यत्र स्थायी बसोबास भए पनि पनौतीका शैक्षिक संस्थाहरूमा उत्कृष्ट नतिजा (A+ ग्रेड) हासिल गर्ने विद्यार्थीहरूलाई पनि यो अवसर प्रदान गरिनेछ।
छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीहरूले तोकिएको ढाँचामा निवेदन फाराम भरी आवश्यक कागजातहरू जस्तै बैंक खाता विवरण, भर्ना रसिद, विद्यालय/क्याम्पसको सिफारिस पत्र र शैक्षिक प्रमाणपत्रहरूको प्रतिलिपि २०८२ साल बैशाख ३० गतेभित्र पनौती नगरपालिकाको कार्यालयमा पेस गर्नुपर्नेछ।
यो छात्रवृत्ति कार्यक्रमले पनौती नगरका युवा विद्यार्थीहरूलाई आफ्नो शैक्षिक सपना साकार पार्न महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास लिएको छ। निर्देशक प्रणराज न्यौपानेले छात्रवृत्ति कार्यक्रम विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि एउटा महत्त्वपूर्ण भएको बताएका छन्।
यो हेरौं