काभ्रे / पनौती
पनौती वडा नम्बर १ मा शैक्षिक उन्नयनको एक नयाँ अध्याय सुरु भएको छ। वडा कार्यालयले सामुदायिक विद्यालय भर्ना अभियान २०८२ को थालनी गरेसँगै स्थानीय अभिभावक र शिक्षाप्रेमीहरूमा उत्साह थपेको छ । निजी विद्यालयको चर्को शुल्कबाट आजित भएका पनौती १ का अभिभावकहरूले अब आफ्ना नानीबाबुलाई आफ्नै टोलछिमेकको सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिलाउन पाउने आशा पलाएको छ।
वडा अध्यक्ष जयर कुमार तामाङले एक सूचना जारी गर्दै वडाका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा आगामी शैक्षिक सत्रदेखि नर्सरी, के जी हुँदै पठनपाठनलाई व्यवस्थित र गुणस्तरयुक्त बनाइने जानकारी गराएसंगै अभिभावकमा यो आशा पलाएको हो । वडा कार्यालयले विद्यालयहरूमा आवश्यक दक्ष शिक्षक र आधुनिक भौतिक पूर्वाधारको व्यवस्थापनलाई प्राथमिकता दिइएको उनले बताए बताएका छन् ।
वडा अध्यक्ष तामाङका अनुसार पनौती वडा न १ को भर्ना अभियानको मुख्य लक्ष्य भनेकै निजी विद्यालयको अत्यधिक शुल्कको भार अभिभावकको थाप्लोमा पर्न नदिनु र सबै वर्गका बालबालिकालाई समान रूपमा गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु हो। “हामी सामुदायिक विद्यालयलाई शैक्षिक हबको रूपमा विकास गर्न प्रतिबद्ध छौँ,” वडा अध्यक्ष तामाङले भने, “अब हाम्रा बालबालिकाले महँगो शुल्क तिरेर निजि विद्यालयमा जानुपर्ने बाध्यता हट्नेछ।”
यस पहललाई स्थानीय बुद्धिजीवी, शिक्षाविद् र समाजसेवीहरूले यस अभियानको खुलेर स्वागत गरेका छन्। उनीहरूले यो अभियानले सामुदायिक शिक्षाको स्तरमा गुणात्मक परिवर्तन ल्याउने र समाजमा सकारात्मक प्रभाव पार्ने बिश्वास लिएका छन् । यस अभियानले पनौती १ का अभिभावकहरू पनि उत्साहित छन् र उनीहरूले आफ्ना बालबालिकाको उज्ज्वल भविष्यका लागि सामुदायिक विद्यालयमा भर्ना गर्न आतुरता देखाएका छन्।
यस अभियानले पनौती वडा नम्बर १ लाई शैक्षिक रूपान्तरणको केन्द्र बनाउने सम्भावना बोकेको देखिन्छ । सामुदायिक शिक्षामा देखिएको यो नयाँ जागरणले समग्र शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ।