काभ्रे / पनौती
हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मुक्तिनाथमा श्री मुक्तिनाथ भगवानको तृतीय ब्रह्मोत्सव आगामी बैशाख ७ गतेदेखि ९ गतेसम्म हुने भएको छ।
श्री मुक्तिनाथ मन्दिर संरक्षण समितिले आज पत्रकार सम्मेलन गरी ब्रह्मोत्सवको विस्तृत कार्यतालिका सार्वजनिक गरेको हो । समितिका अध्यक्ष कुमार थापाले माता पिता एवं श्री मुक्तिनाथ बाबाज्यूको कृपा र भक्तजनहरूको सहयोगले तेस्रो ब्रह्मोत्सव धार्मिक अनुष्ठानको पुण्य लाभ लिने सुअवसर प्राप्त भएको जानकारी दिनुभयो । तृतीय ब्रह्मोत्सवको लागि नगरपालिकाबाट १ लाख रुपैयाँ रकम विनियोजन गरेको उनले बताए । कार्यक्रम सम्पन्न गर्दा सम्म १० देखि ११ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ अन्य रकम विभिन्न दाता तथा वडा कार्यालयबाट उपलब्ध गराउने आश्वासन पाएको पनि उनको भनाइ थियो ।
सम्पूर्ण धर्मावलम्बीहरूलाई यस पावन अवसरमा सहभागी भई पुण्य आर्जन गर्न हार्दिक निमन्त्रणा गर्नुभएको छ।
पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै पनौती नगरपालिका वडा न ५ का वडा अध्यक्ष विनोद खत्रीले वडा न ५ धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास हुँदै गएको बताए । साथै मुक्तिनाथ मन्दिरमा आउने पर्यटकका कारण यहाँको नागरिकको आर्थिक उन्नति भएको उनको भनाइ थियो ।
समितिले जारी गरेको तालिका अनुसार, जेठ ७ गते बिहान विष्वक्सेन आराधना, पुण्याहवाचन, ब्राह्मणवरण र द्वारतोरण पूजा अग्निप्रतिष्ठा जस्ता धार्मिक विधिहरू सम्पन्न हुनेछन्। त्यसैगरी, जेठ ८ गते बिहान नित्य पूजा आराधना श्रीदेवी,भूदेवी बल्लभ श्री मुक्तिनाथ भगवानको बाजागाजासहित शोभायात्रा (नगरपरिक्रमा) गरिने कार्यक्रम रहेको छ ।
त्यस्तै, ब्रह्मोत्सवको अन्तिम दिन जेठ ९ गते बिहान ११:०० बजे महापूर्णाहूति र श्री मुक्तिनाथ भगवानको १०८ कलशद्वारा महाभिषेक गरिनेछ। यसका साथै, कल्याणोत्सव पनि आयोजना गरिने समितिले जनाएको छ।
श्री मुक्तिनाथ संरक्षण समिति पनौती ५ बासघारी ले आयोजना गरेको यो त्रितिय ब्रह्मोत्सव धार्मिक महत्व बोकेको हुनाले यस क्षेत्रका भक्तजनहरूमा उत्साह छाएको छ।