काभ्रे / पनौती
आज संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) र पनौती नगरपालिका बीच पनौती नगरपालिकालाई बिश्व सम्पदा सुचीमा सुचिकृत गर्न आवश्यक पर्ने कागजात र प्रक्रियाको लागि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालको प्राचीन सभ्यता र सांस्कृतिक धरोहरको जीवन्त उदाहरण पनौती नगरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने महत्वाकांक्षी योजनाले गति लिएको छ । यस ऐतिहासिक कार्यलाई सफल पार्न सम्बन्धित सरोकारवाला निकायहरूले आ-आफ्नो जिम्मेवारीलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै तीव्र समन्वय गरिरहेका छन्।
मनोनयन प्रक्रियालाई प्रभावकारी र समयबद्ध बनाउन हालै सार्वजनिक गरिएको कार्य विभाजन दस्तावेजले यस अभियानलाई थप गति दिएको छ। हेरिटेज इन्टरनेशनल इन्स्टिच्युट (HII) ले युनेस्कोको दिशानिर्देशहरूलाई पूर्ण रूपमा पालना गर्दै विस्तृत मनोनयन डोसियर तयार पार्ने गहन कार्य गरिरहेको छ। संस्थानले पनौतीको अद्वितीय ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्त्वलाई वैज्ञानिक प्रमाणसहित प्रस्तुत गर्नेछ। अन्य विश्व सम्पदा स्थलहरूसँग तुलनात्मक अध्ययन गरी पनौतीको ‘उत्कृष्ट विश्वव्यापी मूल्य’ (Outstanding Universal Value – OUV) लाई स्थापित गर्ने कार्यलाई HII ले प्राथमिकता दिएको HII टीमका एक प्रतिनिधिले जानकारी दिनुभयो । साथै, उच्च रिजोल्युसनका तस्बिरहरू र सम्पूर्ण डोसियरको गुणस्तर सुनिश्चित गर्दै युनेस्कोमा पेस गर्ने जिम्मेवारी पनि संस्थानकै रहेको पनि बताउनुभयो ।
यसैगरी, पनौती नगरपालिकाले नगरको विस्तृत शहरी योजना, भू-उपयोग नीति र सम्पदा क्षेत्र निर्धारण लगायतका महत्त्वपूर्ण तथ्याङ्क तथा कागजातहरू उपलब्ध गराएको नगर प्रमुख रामशरण भण्डारीले बताउनुभयो ।
स्थानीय समुदायको सक्रिय सहभागिता र अपनत्वलाई बढाउँदै उनीहरूको समर्थन जुटाउने कार्यमा नगरपालिकाले विशेष ध्यान दिएको छ। विभिन्न सामुदायिक नेता, धार्मिक अगुवा र स्थानीयवासीहरूबाट प्राप्त भएका समर्थन पत्रहरूले पनौतीको विश्वव्यापी पहिचानको लागि बलियो आधार खडा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी प्रशान्त श्रेष्ठले बताउनुभयो । नगरपालिकाले पनौतीको ऐतिहासिक क्षेत्रको विस्तृत भौगोलिक सूचना प्रणाली (GIS) सहितको नक्सा पनि उपलब्ध गराएको छ, जसले सम्पदा क्षेत्रको सीमाङ्कन र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
नेपाल सरकार र युनेस्कोको नेपाल राष्ट्रिय आयोगले यस मनोनयन प्रक्रियालाई कानूनी र नीतिगत रूपरेखा प्रदान गरिरहेका प्रमुख पुरातत्व अधिकृत देबेन्द्र भट्टराईले बताउनुभयो । उहाँ भन्नुहुन्छ “नेपालको सम्पदा संरक्षण सम्बन्धी विद्यमान कानून र नीतिहरूलाई टेकेर पनौतीको दीर्घकालीन संरक्षण सुनिश्चित गर्ने कानुनी आधार तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ। साथै, पनौतीको व्यवस्थापन र संरक्षण योजनालाई अनुमोदन गरी युनेस्कोमा पेश गर्नका लागि औपचारिक सरकारी समर्थन पत्र प्रदान गर्ने महत्त्वपूर्ण जिम्मेवारी पनि यी दुई निकायको रहेको छ। “
पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने यो प्रयास सफल भएमा नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने विश्वास लिइएको छ। यसले अन्तर्राष्ट्रिय स्तरमा पनौतीको पहिचानलाई थप उचाइमा पुर्याउने मात्र नभई स्थानीय संस्कृति, परम्परा र अमूल्य सम्पदाको संरक्षण र संवर्द्धनमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनेछ। सरोकारवाला सबै निकायहरूले एकजुट भएर गरिरहेको यो प्रयासले पनौतीको गौरवमय इतिहासलाई विश्वसामु चिनाउने सुनौलो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।