ललितपुर / महाङ्काल
महाङ्काल गाउँपालिकाले भैंसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषकहरूलाई सम्झौता गर्न आव्हान गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै यसअघि प्रकाशित सूचनामा कुनै प्रतिक्रिया नजनाएका र छनोट भएका कृषकहरूको नामावलीलाई नै अन्तिम मानिने पनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेद्वारा हस्ताक्षर गरिएको सूचना मार्फत जानकारी गराएको छ ।
बागमती प्रदेश सरकारको सशर्त सहयोगमा सञ्चालन हुने यस कार्यक्रममा सहभागी कृषकहरूलाई गाउँपालिकाले कार्यक्रम सञ्चालन सम्बन्धी अभिमुखीकरण र सम्झौताका लागि अनिवार्य रूपमा आ-आफ्नो वडा कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।
गाउँपालिकाले विभिन्न वडाका कृषकहरूका लागि फरक-फरक मिति र समय निर्धारण गरेको छ। जसअनुसार बुखेल वडा कार्यालयका कृषकहरूले बैशाख ५ गते दिउँसो १ देखि ३ बजेसम्म र मानिखेल वडा कार्यालयका कृषकहरूले सोही दिन बिहान ९ देखि ११ बजेसम्म सम्झौता गर्नुपर्नेछ। त्यसैगरी गोटिखेल वडा कार्यालयका कृषकहरूका लागि बैशाख ३ गते दिउँसो १ देखि ३ बजेसम्म र कालेश्वर वडा कार्यालयका कृषकहरूका लागि सोही दिन बिहान ९ देखि ११ बजेसम्मको समय तोकिएको छ। चन्दनपुर वडा कार्यालयका कृषकहरूले बैशाख ४ गते दिउँसो १ देखि ३ बजेसम्म र ठुलादुर्लुङ्ग वडा कार्यालयका कृषकहरूले सोही दिन बिहान ९ देखि ११ बजेसम्म सम्झौताका लागि उपस्थित हुनुपर्नेछ।
गाउँपालिकाले तोकिएको मिति र समयमा बिना जानकारी अनुपस्थित हुने कृषकहरूको हकमा भने बैकल्पिक सूचीमा रहेका कृषकहरूसँग सम्झौता गरिने सूचना मार्फत स्पष्ट पारेको छ। यो कार्यक्रम महाङ्काल गाउँपालिकामा भैंसीपालनलाई थप व्यवस्थित र प्रवर्द्धन गर्न तथा कृषकहरूको आयस्तरमा सुधार ल्याउन महत्वपूर्ण हुने विश्वास लिइएको छ।