काभ्रेपलान्चोक / बनेपा
काभ्रेका नागरिकलाई अब ट्राफिक व्यवस्थापनमा कुनै समस्या भएमा तुरुन्तै प्रहरीलाई खबर गर्न सजिलो भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपाले हटलाइन नम्बर १०३ सञ्चालनमा ल्याएको छ।
यो हटलाइन सेवा सुरु भएपछि अब कसैलाई बाटोको अवस्थाबारे जानकारी चाहिएमा वा गाडीमा कुनै सामान छुटेमा, सार्वजनिक यातायातले बढी भाडा लिएमा वा तोकिएको ठाउँमा जान नमानेमा सिधै १०३ मा फोन गर्न सकिनेछ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले यो सेवाको सुरुवात गर्नुभएको हो। उहाँले भन्नुभयो, “यो हटलाइनले नागरिकलाई ट्राफिक सम्बन्धी सूचना पाउन र आफ्ना गुनासोहरू सजिलै राख्न मद्दत गर्नेछ।”
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख बशुन्धरा खड्काले यो प्रविधिको प्रयोगले प्रहरी सेवालाई अझ छिटो र प्रभावकारी बनाउने बताउनुभयो। “सबैको हातमा मोबाइल भएकोले अब आफ्ना समस्या समयमै प्रहरीलाई जानकारी गराउन सकिनेछ,” उहाँले भन्नुभयो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख बिकास कुमार तामाङले यो हटलाइन २४ सै घण्टा खुल्ला रहने र यसमा फोन गर्दा कुनै शुल्क नलाग्ने जानकारी दिनुभयो। उहाँले यो सेवाले नागरिकका गुनासोहरूलाई तुरुन्तै सम्बोधन गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।
बागमती प्रदेशका जिल्लाहरूमध्ये काभ्रेले पहिलो पटक यो सेवा सुरु गरेको हो। अब काभ्रेका नागरिकले ट्राफिक सम्बन्धी कुनै पनि समस्या परेमा बिना झन्झट प्रहरीलाई सम्पर्क गर्न सक्नेछन्।