बनेपा/काभ्रे
काभ्रे बहुमुखी क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल उत्कर्षमा पुगेको छ। जिल्लाका १६ क्याम्पसमध्ये १५ मा सर्वसम्मत नेतृत्व चयन भए पनि यस क्याम्पसमा भने प्रतिस्पर्धात्मक निर्वाचन हुँदैछ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) र अनेरास्ववियुबीचको प्रतिस्पर्धाले क्याम्पस परिसरमा राजनीतिक सरगर्मी बढाएको छ। नेविसंघबाट रोहिन पराजुली र अनेरास्ववियुबाट मिलन गौतम चुनावी मैदानमा उत्रिएका छन्।
पराजुलीको लोकप्रियता र अनेरास्ववियुको विवादास्पद छविले नेविसंघको पक्षमा माहोल बनेको विश्लेषण गरिएको छ। पराजुलीले ‘म साथी, म विद्यार्थी, म नेतृत्व’ भन्ने नारासहित विद्यार्थीको मन जित्ने प्रयास गरिरहेका छन्। उनको प्यानलमा सचिव तीर्थकुमारी भुर्तेल, कोषाध्यक्ष मनिष श्रेष्ठ र सदस्यहरू सुधा श्रेष्ठ, सजिना लामा, मनिष कुँवर, सन्ध्या गिरी र सुनिता गुँइत छन्। सन्ध्या र सुनिता एकीकृत समाजवादी निकट अनेरास्ववियुबाट गठबन्धनमा सहभागी भएका छन्।
अनेरास्ववियुका उम्मेदवार गौतमले निर्वाचन कार्यतालिका च्यातेपछि विवाद चर्किएको छ। निर्वाचन समितिले स्पष्टीकरण सोध्दै उम्मेदवारी खारेज हुनसक्ने चेतावनी दिएको छ। गौतम कृषि अनुदान अनियमिततामा समेत मुछिएको आरोप लागेको छ।
नेविसंघका पराजुलीले संयमित भएर निर्वाचन सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले शैक्षिक क्षेत्रलाई विचार र सिद्धान्तको द्वन्द्वभूमि बनाउनुपर्नेमा जोड दिएका छन्।
विद्यार्थीहरूले कृषि अनुदान अनियमिततामा मुछिएका र क्याम्पसको शैक्षिक वातावरण बिगार्ने व्यक्तिलाई नेतृत्वमा पुग्न नदिन नेविसंघलाई जिताउनुपर्ने बताएका छन्।
अनेरास्ववियुका उम्मेदवारमाथि कृषि अनुदान अनियमितताको आरोप:
अनेरास्ववियुका उम्मेदवार मिलन कुमार गौतम सचिव रहेको धुलिखेल साना किसान कृषि सहकारी संस्थाले हुँदै नभएका कृषक र आफ्ना आफन्तको नाममा अनुदान दुरुपयोग गरेको आरोप छ। बागमती प्रदेश सरकारको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयबाट प्राप्त अनुदानमा अनियमितता भएको बताइएको छ।
गौतमले हस्ताक्षर गरेर पठाएको विवरणमा बडालगाउँ दुग्ध संकलन केन्द्रका ४० कृषकमध्ये ७५ प्रतिशतले दूध उत्पादन नगर्ने, उल्टै किनेर खाने, काठमाडौं बस्ने र बाख्रा–कुखुरा पाल्नेहरूले समेत हजारौं लिटर दूध बेचेको रेकर्ड बनाएको आरोप छ। गौतमका परिवारका सदस्यहरू पनि कृषकको सूचीमा रहेको बताइएको छ।