काभ्रे / पनौती
पाल्मोथाङ गुम्बा विकास समिति, कलाँती, भुमिडाँडाको आयोजनामा नि:शुल्क तीन महिने बुद्ध दर्शन शिक्षा र सम्भोटा लिपि प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ। पनौती नगरपालिका र वडा नम्बर १२ को समन्वयमा सञ्चालित यो कार्यक्रमले बौद्ध धर्म दर्शन, कला, संस्कार, संस्कृति र परम्परामा रहेको लिपिलाई संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्य राखेको छ।
कार्यक्रममा बोल्दै पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले चुनावमा आफूले गरेको हिन्दु र बौद्ध गुरुकुल शिक्षा स्थापनाको प्रतिबद्धतालाई साकार पार्न यो कार्यक्रम महत्वपूर्ण भएको बताए। उनले समाजमा हाम्रो पहिचान कायम राख्न बौद्ध र हिन्दु दर्शनलाई सँगसँगै लैजानुपर्ने धारणा राखेका थिए ।
पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बुद्धको उपदेश सबैतिर फैलिए समाजमा शान्ति स्थापना हुने बताए। स्वागत मन्तव्य राख्दै लीला बहादुर तामाङले बुद्धका उपदेश, दर्शन र ज्ञान फैलाउन यो कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे। बुद्धको उपदेशले समाजमा हुने हत्या हिंसालाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
प्रशिक्षक आल्साङ तामाङले तीन महिनासम्म प्रशिक्षण दिने जानकारी दिए। कार्यक्रममा ३० जना प्रशिक्षार्थीको सहभागिता रहने बताइएको छ । प्रमुख अतिथिबाट प्रशिक्षार्थीहरूलाई पुस्तक र बस्त्र वितरण गरिएको थियो।
प्रशिक्षणले नयाँ पुस्तालाई कर्मकाण्ड, पूजाआजा गर्न उत्प्रेरित गर्ने, बौद्ध धर्म शिक्षा र धार्मिक विश्वास बढाउने तथा ध्यान साधनाले मनका नकारात्मक कुराहरू हटाउने विश्वास गरिएको छ।
कार्यक्रममा नगरपालिकाका प्रमुख रामशरण भण्डारी, वडाका सामाजिक व्यक्तित्वहरू, प्रशिक्षक तथा प्रशिक्षार्थी, लामा धर्म गुरुहरू लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।