खानीखोला, काभ्रे:
“स्वास्थ्यको लागि खेल, राष्ट्रको लागि खेल” भन्ने नाराका साथ काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नं ७ स्थित रक्त आधारभूत विद्यालयमा खुला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयको ३५औं वार्षिकोत्सवको अवसरमा फागुन १४ गतेदेखि १७ गतेसम्म विद्यालयको प्राङ्गणमा आयोना हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो।
प्रतियोगिताको उद्घाटन फागुन १४ गते पूर्व ऊर्जा राज्यमन्त्री तथा काभ्रे क्षेत्र नं १ का सांसद सूर्यमान दोङले गरेका थिए । प्रतियोगिताको समापन भोलि १७ गते बागमती प्रदेशका पूर्व खानेपानी ऊर्जा तथा सिंचाइमन्त्री एवं काभ्रे क्षेत्र नं १ प्रदेश ख का प्रदेश सभा सदस्य तीर्थ लामाले गर्ने कार्यक्रम रहेको छ।प्रतियोगिताको क्रममा क्वाटरफाइनल खेलमा केही विवाद भएपछि खेल केही समय अवरुद्ध भएको थियो, तर आयोजकको पहलमा पुनः सञ्चालन भएको थियो। विद्यालयका प्रधानाध्यापक रत्न घिसिङले जानकारी दिए अनुसार प्रतियोगिताका विजेतालाई ५० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई १५ हजार र सान्त्वनालाई १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यसका साथै उत्कृष्ट खेलाडी, सेटर, ब्लकर, स्पाइकर र डिफेन्सलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ । भोलि सम्पन्न हुने कार्यक्रममा सेमिफाइनलको र फाइनल खेल हुने आयोजकले बताएको छ ।
प्रतियोगिता रक्त आधारभूत विद्यालयको आयोजना, विद्यालयका पूर्व विद्यार्थीहरूको सहआयोजना र बुद्धशान्ति युवा क्लबको व्यवस्थापनमा भएको थियो।