काभ्रे/ रोशी
बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोक सम्मको मर्मत कार्य शुरू भएको छ । राजमार्गको १३ किलोमिटर खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालेको भक्तपुरमा रहेको सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले जानकारी दिनुभयो ।
क्षतिग्रस्त १३ किलोमिटरमध्ये ८ दशमलव ५ किलोमिटर सडक पुनर्निर्माण गर्नुपर्ने अवस्थामा रहेको कार्यालयका प्रमुख योगेशको भनाइ छ । यो राजमार्गलाई अबरुद्ध हुन नदिने लक्ष्य सहित काम थालेको उहाँले बताउनुभयो ।
गएको शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको टोलीले बीपी राजमार्गको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा मन्त्री दाहालले बाटो पुनर्निर्माण गर्न स्रोत अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
गएको असोज दोस्रो हप्ता आएको बाढीले राजमार्गमा क्षति पुगेपछि त्यस बेला निर्माण गरिएको डाइभर्सन सडक कच्ची र धुलाम्मे भएका कारण यात्रुले सास्ती भोग्नुपरेको छ । अहिले धेरै ठाउँमा खोला तर्काएर बाटो बनाएकोले वर्षायाममा अवरुद्ध हुने निश्चित छ । त्यसैले वर्षायामलाई समेत ख्याल गरेर पुनर्निर्माणको काम शुरू भएको हो । राजमार्गको स्थायी पुनर्निर्माणका लागि झन्डै ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने अनुमान छ । त्यसका लागि भने बजेटको व्यवस्था भइसकेको छैन ।– रासस