काभ्रे/ पनौती
बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, कृषि बिकास निर्देशनालयको आ.व. २०८१/८२ को स्विकृत कार्यक्रम अनुसार पनौती नगरपालिका वडा न ५ मा आज एक वडा एक कृषि उत्पादन कार्यक्रम सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रम पनौती नगरपालिका वडा न ५ को आयोजनामा नगरप्रमुख रामशरण भण्डारी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । एक वडा एक कृषि उत्पादन कार्यक्रम बागमती प्रदेश सरकारको ५ बर्षसम्म निरन्तर चल्ने कार्यक्रम हो ।
कार्यक्रमका प्रमुख अतिथी एवं पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले यस कार्यक्रमलाई नगरपालिकाले साझा धारणा बनाएर अगाडि बढेको बताए । आफुहरु सधैं कृषकको साथमा रहेको बताउँदै उनले ५ बर्ष पछि कार्यक्रम सकिए यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
वागवानी बिकास केन्द्र पाँचखालका प्रमुख बिष्णु बोगटीले बढ्दो सहरीकरणले गर्दा कृषिलाई कसरी जोगाउने भन्ने चुनौती रहेको बताए । साथै बेमौसमी तरकारी उत्पादनलाई जोड दिन सके यो कार्यक्रम अझ प्रभावकारी हुने बताए ।
कृषि बिकास कार्यालय काभ्रेका प्रमुख कुल प्रसाद दवाडीले यश कार्यक्रम अन्तर्गत न्युनतम ६ सय रोपनी जग्गामा तरकारी खेती गरिने बताएका छन् । प्रदेश सरकार, नगरपालिका र लाभग्राही समुदाय बीच त्रीपक्षीय सम्झौता गरेर कार्यक्रमको थालनी गरिने उनको धारणा थियो ।
बागमती प्रदेश भित्र ५ वटा वडामा संचालन हुने यस कार्यक्रम काभ्रेको पनौती ५ र बेथान्चोक २ मा संचालन हुँदै छ । कार्यक्रममा स्थानीय कृषकहरु, वडा तथा नगरका जनप्रतिनिधि लगाएत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।