पनौती
पनौती नगरपालिकाले आफ्ना नागरिकको घाउमा मलम पट्टी लगाउने काम गरेको छ ।
लम्पी स्किन रोगबाट आफ्ना चौपाया पशुहरु मरेपछि दिक्क भएका पनौतीका कृषकलाई केहि हदसम्म मात्र भए पनि राहात मिलोस भन्ने उद्देश्यले नगरपालिकाले पशुहरु मरेका घरपरिवारलाई राहत वितरण गरेको छ । नगरपालिकाले नगरका ३ सय लम्पी स्किन पीडितलाई राहात वितरण गरेको हो । नगरका १२ वडामा ३ सय १० पशु चौपायाको लम्पी स्किनबाट मृत्यु भएको पनौती नगरपालिकाले जनाएको छ । नगरपालिकाले लम्पी स्किन पीडितलाई राहात वितरणको मापदण्ड नै तयार पारेको छ । मापदण्ड अनुसार प्रती परिवार २ वटा सम्म लम्पीबाट मृत्यु भएको पशुहरुलाई मात्र राहत दिइनेछ । त्यसैगरी राहात लिनको लागि पशु चौपाया मरेको या गाढेको देखिने गरि फोटो आबश्यक पर्ने र फोटो नभए वडाको ५ जनाको सरजमिन मुचुल्का र वडाको सिफारिस चाहिने नगरका पशु शाखा प्रमुख लिलानाथ सापकोटाले जानकारी दिए ।
पनौती नगरपालिकाको वडा नंं १ मा ३८ घरपरिवारको ३८ पशु, वडा नं २ को २४ परिवारको २४ पशु, वडा नं ३ को ६४ परिवारको ६६ पशु, वडा नं ४ को ३५ परिवारको ३५ पशु को मृत्यु भएको छ । त्यसैगरी वडा नं ५ को २८ परिवारका ३१ पशु, वडा नं ६ का ११ परिवारका ११ पशु, वडा नं ७ का ४ परिवारका ४ पशु, वडा नं ८ का १४ परिवारका १४ पशु र वडा नं ९ का ५५ परिवारका ६० पशुको मृत्यु भएको विवरण नगरमा आएको नगरपालिकाले जनाएको छ । त्यसैगरी वडा नं १० का २१ परिवारका २१ पशु, वडा नं ११ का ५ परिवारका ५ पशु र वडा नं १२ का १ परिवारका १ पशुको मृत्यु भएको नगरले बताएको छ ।
नगरपालिकले प्रती पशु १० हजारका दरले प्रती परिवार अधिक्तम २ वटा पशुसम्मको लागि राहत उपलब्ध गराएको हो । नगरपालिकाले विपद व्यवस्थापन कोषबाट उक्त राहात वितरण गरेको हो । पनौतीमा लम्पिन्स्किन रोगको नयाँ सन्क्रमित नभेटिएको र पहिलाकै सन्क्रमित पशु भने करिब १ सय को हाराहारीमा रहेको पशु शाखा प्रमुख लिलानाथ सापकोटाले जानकारी दिएका छन् ।