बेथानचोक
बेथानचोक गाउँपालिकामा आफ्नै साथिलाई हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दोलखा जिल्ला सैलुङ गा.पा. वडा नं. ८ घर भएको वर्ष २६ को सुजन उप्रेतीर ९ किलो गाँजा सहित बेथानचोकका तिर्थराज तिमल्सिनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । २०८० साल भदौ १२ गते बिहान बेथानचोक गा.पा. २ स्थित ढोलखोलामा दोलखा जिल्ला मेलुङ १ स्थायी घर भई काठमाण्डौ काँडाघारी बस्ने वर्ष २८ को निर्मल बुढाथोकी मृत अवस्थामा नालिमा भेटिएका थिए । प्रहरीले उक्त घटनास्थलमा तत्काल पुगी हेर्दा लाश भएको ठाउँबाट करिब २० मिटर पश्चिम तर्फ कालो पर्स , NIC ASIA Bank को ATM र निर्मल बुढाथोकी लेखिएको परिचय पत्र फेला पारेका थिए ।
प्रहरीको अनुसन्धानको क्रममा मिति २०८० भदौ १० गते निज निर्मल बुढाथोकी समेत ४ जना बेथानचोक बजारमा देखिएको र ११ गते पुनः मृतक सँग अर्को एक जना साथमा रहेको पाइएको थियो । प्रहरीको अन्य प्राविधिक विश्लेषणहरु समेतबाट निजसँग साथमा रहेको भनिएका व्यक्ति जिल्ला दोलखा सैलुङ गा.पा. वडा नं. ८ घर भएको वर्ष २६ को सुजन उप्रेती रहेको खुले पश्चात इलाका प्रहरीे कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले निज सुजन उप्रेतीलाई प्रहरी वृत लैनचौरको सहयोगमा मिति २०८० भदौ १३ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक सोधपुछ पश्चात निजहरु लागुऔषध गाँजा खरिद गर्नको लागि बेथानचोक गएको र बेथानचोक स्थित तिर्थराज तिमल्सिनाको घरमा बास बसेको खुल्न आएको पाइए पश्चात तत्काल प्रहरी खटिई गई खानतलासी गर्दा निजको घर कोठाबाट सुजन उप्रेतीको झोला, पासपोर्ट सहित प्रतिवन्धित लागूऔषध गाजा जस्तो देखिने पदार्थ ९.७७ किलोग्राम फेला परेकोले निज घरधनी तिर्थराज तिमल्सिनालाई उक्त पदार्थ सहित नियन्त्रणमा लिइएको प्रहरीले जनकारी दिएको छ ।
प्रहरीले घटनामा आफ्नो संलग्नता स्विकार गरेको निज सुजन उप्रेतीलाई आज मिति २०८० भदौ १५ गते सम्मानित जिल्ला अदालत काभ्रेपालाञ्चोक बाट ज्यान सम्बन्धी कसुर मुद्धामा ५ दिन र घरधनि तिर्थराज तिमिल्सिनालाई लागूऔषध सम्बन्धी कसुर मुद्धामा दिन ७ (सात) म्याद थप भई अनुसन्धान भईरहेको बताएको छ । साथै उक्त घटनामा मिति २०८० भदौ १० र ११ गते मृतक सँग बेथानचोकमा देखिएका व्यक्ती नै निज सुजन उप्रेती रहेको, १० गते मृतकसँग रहेका सुजन उप्रेती बाहेक अन्य २ जना व्यक्तिको हकमा निजहरुलाई पहिचान गरी यस कार्यालयमा झिकाई घटना सम्वन्धमा वास्तविकता बुझी निजहरुको संलग्नता रहे नरहेको बिषयमा समेत अनुसन्धान भइरहेको । ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकले जानकारी दिएको छ ।