काभ्रे/ पनौती
पनौती नगरपालिका वडा न १० खोपासिमा बदेलले आतंक मच्चाएको छ । कृषकले बर्षभरी खानको लागि लगाएको मकैबारीमा बदेल पसेर बिनाश गर्न थालेपछि खोपासिका कृषकहरु दङ्ग पर्न थालेका छन् ।
मंगलबार ५ जना कृषक एकै साथ जंगली जनावर बदेलले मकैबारीमा बिनाश पुर्याएको भन्दै १० न. वडा कार्यलयमा पुगेका थिए । २ रोपनी बारिमा लगाएको मकैबारि बदेलका कारण बिनाश भएपछी राहत पाइन्छ कि भनेर वडा कार्यालयको सिफारिस लिन आएको स्थानीय शंकर कोइरालाले बताउनुभयो । उहाँले मकै फलाउनको लागि करिब २० हजार रुपैयाँ लगानी भएको बताउदै इन्द्रेश्वरी थल्पु बन ‘क’ बाट बँदेल पसि छिप्पिन लागेको मकै खाएको बताउनुभयो । त्यस्तै गरि अर्का स्थानीय मैयाँ सिलवाल महतले आफूले खानको लागि लगाएको १० रोपनी बारिमा बदेलले बिनाश गरेको बताउनुहुन्छ । साथै उहाँले भर्खरै मात्र लम्पी रोगका कारण आफ्नो गाइको थुन झरेको गनासो पोख्दै अब कृषकहरु बाच्ने दिन गएको बताउनुभयो । उहाँ जतिखेरपनि कृषक मात्र मारमा पर्ने बताउनुहुन्छ ।
क्षेतिपुर्ती लिनको लागि वडा कार्यालयको सिफारिस, प्रहरीको मुचुल्का, नगरपालिकाको कृषि प्राबिधिकले स्थलगत अनुगमन गरि क्षतिको विवरण प्रतिवेदन सहित जिल्ला बन कार्यालयलाई बुझाउनुपर्ने १० न. वडा कार्यालयका वडा सचीव भगवान बस्नेतले जानकारी दिनुभयो । प्रक्रिया पुगेका कृषकलाई बन कार्यालयले अधिकतम १० हजार रुपैयाँ सम्म राहत पाउने गरेको यस अघिपनी राहत लिनुभएकी मैयाँ सिलवालले बताउनुभयो ।
बदेलले मकैमात्र नभएर धानबालिलाई पनि बिनाश गर्ने गरेको इन्द्रेश्व्री थल्पु सामुदायिक बन उपभोक्त समितिका सचीव बालकृष्ण फुयालले जानकारी दिनुभयो । साथै उहाँले कृषकले लगाएका नगदेबाली जस्तै पिडालु, सखरखन्ड, भुइ स्याउमा पनि आक्रमणगरि बिनाश गर्ने गरेको बताउनुभयो ।
बदेलको आक्रमणबाट बर्षेनै करिब २०० रोपनी मकैबारिमा क्षति पुग्ने र ५०/५५ घरधुरीले राहतका लागि वडाबाट सिफारिस लाने गरेको वडा अध्यक्ष मोहन बहादुर भण्डारीले जानकारी दिनुभयो ।