धुलिखेल
काभ्रेमा पछिल्लो उच्चरक्तचापको बिरामी बढ्दै गएको पाइएको छ । काभ्रेमा १३ वटा स्थानीय पालिकाहरु रहेका छन् । १३ पालिकाम जम्मा जनसंख्या ३ लाख ७२ हजार ९ सय ५१ जना रहेका छन् । स्वास्थ्य कार्यालय काभ्रेले सार्बजनिक गरेको तथ्यांक अनुसार काभ्रेमा कुल जनसंख्याको ५१ हजार २ सय ८१ जनामा उच्चरक्तचाप अनुमानित तथ्यांक बाहिर ल्याएको छ । समग्रमा काभ्रेका प्रत्येक पालिकामा १३ देखि १४ प्रतिशातमा उच्चरक्तचापका बिरामी देखिए पनि पालिकाकै विभिन्न ठाउँमा गएर क्याम्पहरु संचालन गर्दा ३० देखि ४० प्रतिशात सम्म बिरामीहरु पाइएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम सेढाईले बताउनुभयो । यस आर्थिक बर्षमा जिल्लाभरी २० प्रतिशत बिरामीहरुलाइ उपचार गर्ने स्वास्थ कार्यालय काभ्रेले लक्ष राखेको पनि डा. सेढाइले बताउनुभयो । उहाँले कोभिड १९ पछि धेरै बिरामीहरु प्राइभेट हस्पिटल तथा क्लिनिकमा पनि जचाँउन गएको र कतिपय क्लिनिकहरुले तथ्यांक स्वास्थ्य ब्यबस्थापन सूचना प्रणालीमा(HMIS)नभरिदिएको कारण एकिन तथ्यांक बाहिर आउन नसकेको बताउनुभएको छ । उच्चरक्तचाप बड्नुमा वातावरण प्रदुषण, बढी मात्रामा नुनको प्रयोग, बोसो युक्त तथा अत्याधिक चिल्लो खाद्यपदार्थ खानु, जङ्क फूडको प्रयोग, सक्रिय पनको कमि, मानसिक तनाव, धेरै मात्रामा रक्सी, चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग प्रमुख कारण हुन सक्ने सक्छ डा. सेढाइ बताउनुहुन्छ । उच्चरक्तचापका कारण मुटु, दिमाग, मृगौला जस्ता घातक रोगहरु बढ्ने भएकाले समय समयमा आफ्नो स्वास्थ परिक्षण गरिरहनु पर्नेमा पनि उहाँले जोड दिनुभयो । डा. सेढाइले नागरिकहरुलाई बिशेष गरि खानपिन र शारीरिक व्यायाम ध्यान दिन साथै ३० बर्ष भन्दा माथिका ब्यक्तिहरुले समयसमयमा चिकित्सक तथा स्वास्थ्य चौकिमा गएर आफ्नो रक्तचाप जचाँउने र चिकित्सकको सल्लाह अनुसार कार्य गरि आफ्नो स्वास्थ्य स्वस्थ राख्न अपिल गर्नुभएको छ ।