सरकारले बिहीबारदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन्।
बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे पनि साँझ सरकारले परीक्षा अनिश्चितकालका लागि स्थगन गरेपछि परीक्षा केन्द्र सुनसान बनेका हुन्।
विश्वव्यापी महामारीका रूपमा रहेको कोरोना भाइरस (कोभिड–१९) फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बुधबार साँझ बसेको सरकारको उच्चस्तरीय समन्वय समितिको बैठकले आकस्मिक निर्णय गर्दै एसइई परीक्षासँगै चैतमा हुने भनिएका सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो।
चैत १७ गतेसम्म सञ्चालन हुने तय भएको एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको थियो। अचानक परीक्षा स्थगन भएपछि परीक्षा दिन तयारी अवस्थामा रहेका कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी र परीक्षामा खटिने ६५ हजार जनशक्ति परिचालन नहुँदा परीक्षा केन्द्र सुनसान बनेका हुन्।