ललितपुर
बागमती गाउँपालिका वडा न ७ गिम्दीमा खुकुरी प्रहार बाट एक ब्यक्ति गम्भीर घाइते भएका छन् । खुकुरी प्रहार बाट वडा न ७ गिम्दी दोर्जलिङका जय नारायण ठोकर घाइते भएका हुन् । उनलाई सोही वडाका कटुवा बस्ने दिनेश विश्वोकर्माले गए राती ९ बजेको समयमा खुकुरी प्रहार गरेको गिम्दी प्रहरी चौकिले सिरुपाते खबरलाई बताएको छ । खुकुरी प्रहार राती ९ बजे भएको भए पनि स्थानीयले भने ११ बजे मात्र थाहा पाएको बताएका छन् । खुकुरी तथा धारिलो हतियार प्रयोग भएको खबर थाहापाएपछी स्थानीय र प्रहरी घटना स्थलमा पुगेको थियो । खुकुरी प्रहारबाट ठोकरको टाउकोको २/३ ठाउँमा गहिरो चोट लागेको प्रहरीले बताएको छ । घटना स्थलमा पुग्दा बिरामी एकातिर लडिराखेको र खुकुरी हान्ने ब्यक्ति पनि अत्याधिक मदिरा सेवनका कारण बिहोस अबस्थामा लडिरहेको बेलामा फेला पारेको प्रहरीले जनाएको छ ।
जय नारायण स्थानीय झारफुक गर्ने ब्यक्ति रहेछन् , दिनेश बि.क. को श्रीमती बिरामी भएको कारण उनलाई ल्याइ झारफुक गर्ने बेलामा आफ्नो श्रीमतीको शरीरमा छोएको कारण आफुले खुकुरी हानेको भनेर दिनेश बि.क.ले भनेको पनि प्रहरीले बताएको छ ।
राती नै गिम्दी प्रहरीले खुकुरी प्रहार गर्ने दिनेश बि.क. र उनको श्रीमती अन्जना ढकाललाई नियन्त्रणमा लिई चापगाउँ चौकीमा पठाएका छन् भने घाइतेलाई उपचारका लागि पाटन अस्पताल लगिएको बताएको छ । यो समाचार तयार पार्दासम्म किटानी जाहेरी नआएको र किटानी जाहेरी आएपछि आबश्यक कानुनी प्रक्रिया अगाडि बढाइने चापागाउँ प्रहरीले जनाएको छ । हाल घाइतेको पाटन अस्पतालमा उपचार भैराखेको पनि प्रहरीले बताएको छ ।