‘संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि छलफलका लागि बिहीबार बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगन भएको छ।
कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको निर्णयानुसार २५ जनाभन्दा बढी भेला हुन नहुनेमा सहभागी संख्या बढी भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि आजको बैठक केहीबेर चलेर स्थगन गरिएको हो।
समितिले बुधबार गरेको निर्णय नम्बर ३ मा अत्यावश्यक काम बाहेक आवातजावत हिँडडुल नगर्न, सांस्कृतिक, सामाजिक कार्यक्रमहरु नगर्न र त्यस्तै कार्यहरु पार्टी प्यालेस, मठ–मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुन बन्द गर्ने र उक्त विषयको अनुगमन गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने उल्लेख छ।