भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले कोभिड–१९ को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्यारेन्टाइनसम्म तयारी अवस्थामा राखेको छ।
नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोभिड–१९ को समेत परीक्षण गर्ने मेशिन भित्र्याउनुका साथै अन्य तयारी पूरा गरेर राखेको हो।
कोरोना भाइरस भए नभएको परीक्षण गर्नसक्ने ‘पोलिमराइज चेन रिएक्सन’ मेशिनसहित नगरपालिका र इन्टरपेड नेपालको समन्वयमा अस्पतालमा मलेकुलर ल्याब र हिस्टो ल्याब आइतबारदेखि सञ्चालनमा ल्याइने भएको छ।
यो ल्याबबाट कोरोनाका शंकास्पद बिरामीको स्वाब परीक्षण गर्न सकिनेछ। काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुमा कोरोना भाइरस परीक्षणमा चाप धान्न नसकेर सरकारले अनुमति दिएमा यहीँबाट परीक्षण गर्न सकिने भएको हो। कोरोना परीक्षण अनुमतिका लागि कुराकानी भइरहेको बताइएको छ।