काभ्रे
देशभर डेंगु संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ । मन्त्रालयको सोमबारसम्मको तथ्यांकअनुसार देशभर ६ हजार ६ सयजनामा डेंगु संक्रमण पुष्टि भएको छ । अहिले १० जिल्लामा डेंगु भयावह छ ।
तीमध्ये ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, धादिङ, भक्तपुर, तेह्रथुम, गुल्मी, सिन्धुली र संखुवासभामा डेंगु बढी देखिएको छ । मन्त्रालयले यी जिल्लालाई प्राथमिकतामा राखेर नियन्त्रणका कार्यक्रम अघि सार्न जिल्लास्थित स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयले डेंगु जाँच्ने किटको अभाव नहुने जनाएको छ । मन्त्रालयले देशैभरका स्वास्थ्य संस्थालाई निःशुल्क डेंगु परीक्षण गर्न यसअघि नै निर्देशन दिइसकेको छ । संक्रमण भयावह हुने अवस्था आएकाले मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग किट माग गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता संजय कुमार ठाकुरले जानकारी दिए ।मन्त्रालयका प्रवक्ता डा.ठाकुरले ९० प्रतिशतलाई डेंगु आफैँ निको हुने बताए । उनका अनुसार एडिसएजिप्ट प्रजातिको लामखुट्टेले दिउँसो टोक्दा डेंगु हुन्छ । यो सहरिया लामखुट्टे हो । नयाँपत्रिका दैनिकमा समाचार प्रकाशित छ ।