काभ्रे
साहित्यकार डा. गोपाल पौड्याल मण्डनेद्धारा रचित उमाकान्त शोककाव्यको विमोचन एक कार्यक्रम बीच वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले गर्नुभएको छ ।
कवि डा. गोपाल पौडेल मण्डनेको उमाकान्त शोककाव्य उनले आफ्ना पिताको स्मरणमा लेखिएको शोककाव्य हो । नेपाली साहित्यमा शोककाव्य लेखनको थालनी कवि भीमनिधि तिवारीको समयदेखि भएको देखिन्छ । माधवप्रसाद घिमिरेको गौरी शोककाव्य पनि निकै प्रख्यात छ । कवि मण्डनेले आफ्ना दिवङ्गत पिताको बारेमा शोककाव्य रचेर पिताप्रति श्रद्धाभाव पोखेका छन् । हुनत नेपाली साहित्यमा पिताका बारेमा थोरै मात्र कविताहरू रचिएको यथाार्थता छ । तर कवि मण्डनेले सिङ्गो कृति नै पिताको स्मरणमा लेख्नुले ठूलो अर्थ राख्दछ । उमाकान्त शोककाव्य नेपाली शास्त्रीय छन्दमा लेखिएको छ । करिव दुई दर्जन कृतिका सर्जक डा. गोपाल पौडेल मण्डनेले कविता, मुक्तक, गीत, कथा, निबन्ध जस्ता नेपाली साहित्यका लोकप्रिय विधाहरूमा कलम चलाउँदै आएका छन् ।
पुस्तक विमोचन समारोहमा प्रमुख अतिथि डा. तुलसी भट्टराईले उमाकान्त शोककाव्य पिताप्रति समर्पित नेपाली साहित्यको उपलब्धि भएको विचार व्यक्त गर्नुभयो । सोही कार्यक्रममा विशेष अतिथिको रुपमा डा . शैलेन्दुप्रकाश नेपालले शोककाव्यको पठनपछि सबैले आफ्ना पितालाई दिलैदेखि सम्झन पुग्ने, पिताप्रतिको स्नेह र श्रद्धाभावको सागर उर्लेर आउने विचार पोख्नुभएको छ । त्यस्तै पुस्तकका बारेमा लोकप्रिय कवि सुदेश सत्यालले आफ्नो धारण व्यक्त गरेका थिए ।
अक्षरमार्गद्धारा आयोजित सो कार्यक्रममा २०९ औं भानुजयन्तिको अवसर पारेर कविगोष्ठी समेत गरिएको थियो । कविगोष्ठीमा काभ्रेका र काठमाडौका गरी दुइ दर्जनभन्दा बढी कविहरूले समसामयिक विषयका आ–आफ्ना कविताहरू पाठ गरेका थिए । साहित्यकार सूर्यप्रसाद लाकोजूको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उमाकान्त स्मृति प्रतिष्ठानका अध्यक्ष तथा कथाकार कश्यप पौडयालले शब्दबाट सबैलाई स्वागत गरेका थिए भने राम पौडयालले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए । कार्यक्रममा नेपाली भाषा र साहित्यको सेवा गरे वापत कवि गोपालप्रसाद मण्डनेलाई सम्मान समेत गरिएको थियो ।